सुकुम्बासीलाई असार तेस्रो सातादेखि लालपुर्जा वितरण सुरु हुने : मन्त्री रावल

काठमाडौं, असार ३ — भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आगामी असार तेस्रो हप्तादेखि सुकुम्बासीहरूलाई लालपुर्जा वितरण प्रक्रिया सुरु गरिने बताएकी छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले सुकुम्बासी समस्या समाधानका लागि नयाँ कार्ययोजना कार्यान्वयनमा ल्याइएको जानकारी दिइन्।

उनका अनुसार विगतका आयोगहरू राजनीतिक भर्ती केन्द्रजस्तै बनेकाले समस्या समाधान हुन नसकेको भन्दै संरचनागत सुधार गरिएको छ।

मन्त्री रावलले पछिल्लो ३० वर्षमा १२ लाख निवेदन परे पनि केवल करिब ९ हजार जनाले मात्र लालपुर्जा पाउनु “लज्जास्पद” अवस्था भएको उल्लेख गरिन्।

अब सुकुम्बासी व्यवस्थापनका लागि जिल्ला तहमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) को अध्यक्षतामा समिति गठन गरिने र केन्द्रमा विज्ञहरूको समिति रहने व्यवस्था गरिएको उनले बताइन्।

सहकारी क्षेत्रबारे बोल्दै मन्त्री रावलले समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता गर्न राज्यकोषको एक रुपैयाँ पनि प्रयोग नगरिएको स्पष्ट पारिन्।

उनका अनुसार पछिल्लो तीन महिनामा ८ वटा समस्याग्रस्त सहकारीका १ हजार ४५२ साना बचतकर्ताको ५९ लाख रुपैयाँभन्दा बढी फिर्ता गरिएको छ।

त्यसैगरी, सोही अवधिमा ३ करोड ५४ लाख रुपैयाँभन्दा बढी ऋण असुली गरिएको र सहकारीहरूको अनुगमन अझ कडाइका साथ गरिने उनले जानकारी दिइन्।

मन्त्री रावलले बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत स्थानीय तहको अवस्थाअनुसार बजेट वितरण गरिएको तथा गरिबी परिचयपत्र वितरण प्रक्रिया बाँकी जिल्लामा पनि छिट्टै सम्पन्न गरिने बताइन्।

प्रतिक्रिया दिनुहोस्