कुवेतमा अलपत्र नेपाली महिलाको उद्धार गर्न राप्रपाको माग

काठमाडौं, असार ३ — राष्ट्रिय प्रजातन्त्र पार्टी की प्रमुख सचेतक खुश्बु ओली ले कुवेतका विभिन्न जेल तथा कठिन अवस्थामा रहेका नेपाली महिलाहरूको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेका नेपाली महिलाहरू अमानवीय पीडा भोग्न बाध्य भएको बताइन्।

सांसद ओलीले समस्यामा परेकी नेपाली महिला शर्मिला दर्जीलाई नेपाली दूतावाससँगको समन्वय र निरन्तर पहलपछि स्वदेश फर्काउन सफल भएको जानकारी दिँदै कुवेतमा अझै धेरै नेपाली महिला कठिन परिस्थितिमा रहेको उल्लेख गरिन्।

उनका अनुसार नेपाल फर्कने तयारी पूरा गरिसकेपछि पनि शर्मिला दर्जीलाई रोकिएको थियो। दूतावासमार्फत पुनः पहल गरेपछि मात्र उनको रिहाइ सम्भव भएको र उनी हाल स्वदेश फर्किसकेको बताइन्।

उद्धार गरिएकी महिलाको भनाइ उद्धृत गर्दै ओलीले कुवेतका जेलहरूमा अझै सयौँ नेपाली महिला रहेको र कतिपयले मानसिक सन्तुलन समेत गुमाइसकेको जानकारी सदनमा गराइन्।

अवैध माध्यमबाट कुवेत पुगेका करिब ६५ हजार नेपाली महिला विभिन्न जोखिममा रहेको दाबी गर्दै उनले उनीहरूको सुरक्षित उद्धार तथा स्वदेश फिर्तीका लागि सरकारले तत्काल प्रभावकारी पहल गर्नुपर्ने माग गरिन्।

प्रतिक्रिया दिनुहोस्