चिया उद्योग संकटमा, सरकार उदासीन भएको कांग्रेसको आरोप

काठमाडौं, असार ३ — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस का सचेतक निश्कल राईले चिया किसान र उद्योगीहरूको समस्या समाधानमा सरकार गम्भीर नभएको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भारतले चिया निर्यातमा अवरोध सिर्जना गरेपछि इलामका चिया उद्योगीहरूले उद्योग बन्द गरी ३ दिनदेखि तालाबन्दी गर्न बाध्य भएको बताए।

राईका अनुसार भारतीय चिया बोर्डले नयाँ मापदण्ड लागू गरेपछि परीक्षण रिपोर्ट आउन ढिलाइ हुने र सो अवधिमा चिया नष्ट गर्नुपर्ने अवस्था बनेको छ। यसले उत्पादन, निर्यात र किसानको आम्दानीमा गम्भीर असर पारेको उनले बताए।

उनले सूर्योदय नगरपालिकामा मात्रै ५३ भन्दा बढी र जिल्लाभर ८३ भन्दा बढी चिया उद्योग बन्द भएको दाबी गर्दै किसानले उत्पादन गरेको हरियो चिया खेर गएको उल्लेख गरे।

श्रमिकहरूको रोजगारी गुमेको, उद्यमीहरू बैंक ऋण तिर्न नसक्ने अवस्था आएको भन्दै उनले सरकारलाई तत्काल चिया निर्यात सहज बनाउन, दीर्घकालीन समाधान खोज्न, चिया परीक्षण प्रयोगशाला स्थापना गर्न र तेस्रो देशमा बजार विस्तार गर्न माग गरे।

प्रतिक्रिया दिनुहोस्