नयाँ पार्टी गठनको तयारीमा प्रसाईं–राणा, २४ वटा समिति गठन
काठमाडौं, असार ३ — नयाँ राजनीतिक दल घोषणा गर्ने तयारीमा रहेका दुर्गा प्रसाईं र धवलशम्शेर राणा ले पार्टी गठनअघि २४ वटा विभिन्न समिति तथा विभाग गठन गरेका छन्।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान बिसर्जन गरेका प्रसाईं र राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका राणाले संयुक्त रूपमा नयाँ राष्ट्रवादी राजनीतिक शक्ति निर्माणको तयारी गरिरहेका छन्।
यसअघि उनीहरूले मलमासका कारण पार्टी घोषणा स्थगित गरिएको बताएका थिए। असार १ गतेदेखि मलमास समाप्त भएसँगै पार्टी घोषणा प्रक्रियाले गति लिएको बताइएको छ।
प्रस्तावित राष्ट्रवादी पार्टी निर्माणका लागि जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरिसकेका नेताहरूले संगठन निर्माणलाई व्यवस्थित बनाउन विभिन्न समिति गठन गरेका हुन्।
गठित समितिअन्तर्गत कार्यदल समिति संयोजकमा मुकुन्द श्याम गिरी, वार्ता समिति संयोजकमा राजु आचार्य, सचिवालय समिति संयोजकमा सगुन सुन्दर लावती, विधान मस्यौदा समिति संयोजकमा माधव कल्पित, आर्थिक समिति संयोजकमा दिलविकास भण्डारी तथा जेन–जी संयोजन समिति संयोजकमा दीपिका भट्टलाई जिम्मेवारी दिइएको छ।
त्यसैगरी सञ्चार समिति संयोजकमा क्षितिज सापकोटा, कानुनी परामर्श समिति संयोजकमा महेन्द्रजंग शाही, प्रशिक्षण विभाग संयोजकमा पुष्प अधिकारी तथा झण्डा, नाम र चुनाव चिह्न समिति संयोजकमा मुकुन्द श्याम गिरी नियुक्त भएका छन्।
महिला संयोजन समिति संयोजकमा अञ्जना शाह रावल, युवा विभाग संयोजकमा फणीराज लोहनी, भूपू सैनिक समिति संयोजकमा प्रकाशजंग कार्की, अन्तर्राष्ट्रिय सम्पर्क समिति संयोजकमा निराजन प्रसाईं तथा नागरिक सुरक्षा समायोजन समिति संयोजकमा दुरेन राई चयन भएका छन्।
यस्तै, सांस्कृतिक विभाग संयोजकमा दिनेश पाख्रिन, युवा संगठन संयोजकमा निराजन बम, प्रवास विभाग संयोजकमा शशी सिलवाल, मजदुर संगठन (ट्रेड युनियन) समिति संयोजकमा चिरागमान सिंह कुँवर तथा खेलकुद समायोजन समिति संयोजकमा दमन बस्नेतलाई जिम्मेवारी दिइएको छ।
सुकुम्बासी समायोजन समिति संयोजकमा नरेन्द्र लामा, सुझाव संकलन समिति संयोजकमा कर्णबहादुर शाही, वित्तीय समस्या समाधान समिति (लघुवित्त, मिटरब्याज, बैंक तथा सहकारी) संयोजकमा देवी संग्रौला तथा वातावरण समिति संयोजकमा पवित्रा सुब्बा श्रेष्ठ चयन भएका छन्।
प्रसाईं र राणाले छिट्टै नयाँ राजनीतिक दलको औपचारिक घोषणा गर्ने तयारी गरिरहेको निकट स्रोतले जनाएको छ।





प्रतिक्रिया दिनुहोस्