चिया उद्योग संकटमा, सरकार गम्भीर नबने उद्योग बन्द हुने चेतावनी

काठमाडौँ  २,असार । नेपाली कांग्रेसका सचेतक निश्कल राईले इलामको अर्थतन्त्र र जनजीविकाको आधार मानिएको चिया उद्योग गम्भीर संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै राईले निर्यातमा देखिएका अवरोध, बजार व्यवस्थापनको अभाव र सरकारी उदासीनताका कारण चिया उद्योग धराशायी हुने अवस्थामा पुगेको बताए।

उनले इलामका अधिकांश नागरिकको जीविकोपार्जन चिया खेती र व्यवसायसँग जोडिएको भए पनि सरकारले समस्या समाधानका लागि आवश्यक पहल नगरेको आरोप लगाए। चिया किसान र व्यवसायीका समस्या पटक–पटक संसद र सरकारसमक्ष उठाए पनि सुनुवाइ नभएको उनको गुनासो छ।

राईका अनुसार नेपाली चियाको प्रमुख बजार रहेको भारतको पश्चिम बंगालमा गुणस्तर परीक्षणको नाममा अनावश्यक अवरोध सिर्जना गरिएको छ। पानीट्यांकी नाकामा नेपाली चियाका कन्टेनरहरू १५ दिनसम्म रोकिँदा व्यवसायीहरूले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको उनले बताए।

“नेपालको चिया गुणस्तरीय हुँदाहुँदै पनि परीक्षण र नकारात्मक प्रचारका नाममा अवरोध गरिनु चिन्ताजनक विषय हो,” उनले भने।

यो समस्या केवल प्राविधिक नभई कूटनीतिक विषयसमेत भएकाले सरकार–स्तरमै वार्ता गरी दीर्घकालीन समाधान खोज्नुपर्नेमा उनले जोड दिए। परराष्ट्र तथा सम्बन्धित निकायले यस विषयलाई प्राथमिकतामा राख्न नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

राईले नेपालमै अन्तर्राष्ट्रिय मापदण्डअनुसारको चिया परीक्षण केन्द्र स्थापना गर्न, चिया बगान संरक्षण गर्न, नेपाली चियाको ब्रान्ड प्रवर्द्धन गर्न तथा अन्तर्राष्ट्रिय बजार विस्तारका लागि विशेष कार्यक्रम ल्याउन सरकारसँग माग गरे।

चिया व्यवसायीहरू आन्दोलनको तयारीमा रहेको उल्लेख गर्दै उनले समयमै समस्या समाधान नभए उद्योग थप संकटमा पर्ने चेतावनी दिए।

“म प्रतिपक्षमा भए पनि चिया किसानको छोरा हुँ। चिया क्षेत्रको समस्या समाधानका लागि निरन्तर आवाज उठाइरहनेछु,” उनले भने।

प्रतिक्रिया दिनुहोस्