दुई अर्बको सडकमा पाँच करोड मात्रै बजेट, सांसद भुसालको आक्रोश

काठमाडौँ  २,असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरिप्रसाद भुसालले अर्घाखाँचीको सन्धीखर्क–गोरुसिङ्गे सडकका लागि आवश्यकताभन्दा अत्यन्त न्यून बजेट विनियोजन गरिएको भन्दै सरकारप्रति असन्तुष्टि जनाएका छन्।

प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै सांसद भुसालले करिब दुई अर्ब लागत अनुमान गरिएको उक्त सडकका लागि चालु आर्थिक वर्षमा केवल पाँच करोड रुपैयाँ मात्रै छुट्याइएको बताए।

उनले साँघुरा सडकका कारण सन्धीखर्क–गोरुसिङ्गे सडक खण्डमा हरेक वर्ष दुर्घटना हुने गरेको उल्लेख गर्दै सडकलाई दुई लेनमा स्तरोन्नति गर्न आफूले माग राखेको स्मरण गराए। तर सरकारले आवश्यक बजेट व्यवस्था नगरेको भन्दै उनले आपत्ति जनाए।

“यही गतिमा बजेट विनियोजन हुने हो भने एउटा सडक सम्पन्न गर्न चार दशक लाग्ने अवस्था देखिन्छ,” उनले भने, “यो कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन।”

सांसद भुसालले बजेट निर्माणअघि प्रधानमन्त्रीसँग भएको भेटमा अर्घाखाँचीका महत्वपूर्ण योजनाबारे ध्यानाकर्षण गराइएको र सम्बन्धित निकायबाट सकारात्मक आश्वासनसमेत प्राप्त भएको बताए। तर बजेट सार्वजनिक भएपछि जिल्लाका धेरै महत्वपूर्ण योजना समेटिन नसकेको उनको गुनासो छ।

“जनताले अहिले हामीलाई सोधिरहेका छन्, तपाईंले भनेका योजना कहाँ गए ? हामीले के जवाफ दिने ?” उनले प्रश्न गरे।

भुसालले जिल्लाका प्रमुख तथा रणनीतिक महत्वका सडकलाई प्राथमिकता दिन आग्रह गरे पनि सालझण्डी–ढोरपाटन सडक बाहेक अन्य योजनाले पर्याप्त बजेट नपाएको बताए।

उनले दुर्गम जिल्लाका विकास आयोजनाप्रति सरकार थप संवेदनशील बन्नुपर्ने आवश्यकता औँल्याउँदै बजेट वितरणमा सन्तुलन र न्याय हुनुपर्ने धारणा राखे।

सांसद भुसालले बजेट शक्तिकेन्द्र केन्द्रित भएको प्रत्यक्ष आरोप नलगाए पनि बजेट पुस्तिका अध्ययन गर्दा यस्ता आशंका गर्ने पर्याप्त आधार देखिएको टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस्