राहदानी छपाइ प्रकरण : महानिर्देशक अर्याल र निर्देशक केसीलाई ४ दिन थुनामा राख्न अनुमति

काठमाडौँ २, असार । राहदानी छपाइसँग सम्बन्धित भ्रष्टाचारको आरोपमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तिर्थराज अर्याल र निर्देशक सुनीलकुमार केसीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले सोमबारदेखि लागू हुने गरी दुवै जनालाई थुनामा राख्न अनुमति दिएको हो।

विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइ प्रक्रियामा भ्रष्टाचारजन्य कसुर भएको आशंकामा थप अनुसन्धानका लागि म्याद माग गर्दै निवेदन दर्ता गरेको थियो।

सोही निवेदनमाथि सुनुवाइ गर्दै अदालतले चार दिनको म्याद थप गर्न अनुमति दिएको हो।

राहदानी छपाइसम्बन्धी खरिद तथा व्यवस्थापन प्रक्रियामा अनियमितता भएको विषयमा अख्तियारले अनुसन्धान अघि बढाएको छ। अनुसन्धानको क्रममा प्राप्त तथ्य र प्रमाणका आधारमा थप कानुनी प्रक्रिया अगाडि बढाइने जनाइएको छ।

यो प्रकरणले राहदानी विभागभित्रको कार्यप्रणाली र सार्वजनिक खरिद प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ भने घटनालाई लिएर प्रशासनिक वृत्तमा व्यापक चासो देखिएको छ।

प्रतिक्रिया दिनुहोस्