कांग्रेसमा संस्थापनइतर पक्षलाई साझा धारणा बनाउन विश्वप्रकाश शर्माको आग्रह

काठमाडौँ २,असार । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको संस्थापनइतर पक्षलाई तत्काल बैठक गरी सात बुँदे प्रस्तावबारे साझा धारणा तय गर्न आग्रह गरेका छन्।

मंगलबार झापाको धुलाबारीमा नेता कृष्णप्रसाद सिटौलासँग भएको भेटमा शर्माले संस्थापनइतर पक्षका नेताहरूबीच लामो समयदेखि समन्वयको अभाव रहेको उल्लेख गर्दै साझा निष्कर्षमा पुग्न सुझाव दिएका हुन्।

भेटका क्रममा शर्माले पूर्णबहादुर खड्का र शेखर कोइरालासँग समेत छलफल भएको तर संस्थापनइतर पक्षबाट एकीकृत धारणा नआएको बताएका थिए। उनले साझा धारणा तयार गरी समूहको प्रतिनिधित्व कसले गर्ने भन्ने विषय पनि स्पष्ट गर्नुपर्ने आवश्यकता औँल्याए।

जवाफमा नेता सिटौलाले एकपटक बसेर छलफल गर्ने बताएका थिए।

शर्माले आफूहरू संवादका लागि तयार रहेको उल्लेख गर्दै आफ्नो प्रस्तावलाई सार्वजनिक रूपमा ‘नाटक’ भनिएको विषयमा समेत असन्तुष्टि व्यक्त गरेका थिए। उनले संस्थापनइतर पक्षले आन्तरिक रूपमा छलफल गरी आगामी रणनीति तय गर्नुपर्ने बताएका छन्।

उपसभापति शर्मा आफ्ना काका तथा पुराना कांग्रेस नेता याम भण्डारीको निधनपछि धुलाबारीस्थित निवासमा रहेका छन्। नेता सिटौला भण्डारी परिवारप्रति समवेदना व्यक्त गर्न पुगेका बेला पार्टीभित्रका समसामयिक विषयमा समेत कुराकानी भएको हो।

पार्टीभित्रको आन्तरिक समीकरण र सात बुँदे प्रस्तावलाई लिएर पछिल्लो समय कांग्रेसमा छलफल तीव्र बनेको छ।

प्रतिक्रिया दिनुहोस्