‘हामी सुपर कम्प्युटर होइनौं’ : बजेट अध्ययनको समयसीमामाथि सांसद ओलीको आलोचना
काठमाडौं २,असार । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली तथा बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएकी छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेटमाथिको छलफलमा सहभागी हुँदै उनले बजेटसम्बन्धी महत्वपूर्ण दस्तावेज अध्ययनका लागि सांसदहरूलाई पर्याप्त समय नदिइएको बताइन्।
सांसद ओलीले संसद्मा हुने बजेटमाथिको छलफल प्रभावकारी बन्न नसकेको टिप्पणी गर्दै १८ मन्त्रालयका विकास कार्यक्रमसम्बन्धी पुस्तिका छोटो समयमै अध्ययन गरी खर्च कटौती प्रस्ताव तयार गर्नुपर्ने व्यवस्था अव्यावहारिक भएको बताइन्।
पूर्वाधार विकास मन्त्रालयको बजेटबारे धारणा राख्दै उनले मदन भण्डारी राजमार्ग, पुष्पलाल मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग तथा सुरुङमार्गजस्ता रणनीतिक आयोजनालाई निरन्तरता दिनु सकारात्मक भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको उल्लेख गरिन्।
उनले वर्षौंदेखि बजेट विनियोजन भइरहे पनि धेरै आयोजना अपेक्षित रूपमा सम्पन्न हुन नसकेको भन्दै पुराना तथा राष्ट्रिय महत्वका आयोजनालाई प्राथमिकता दिएर समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिइन्।
सांसद ओलीले सडक मर्मतसम्भार, जलवायुमैत्री पूर्वाधार निर्माण तथा सडक दुर्घटना न्यूनीकरणका लागि स्पष्ट कार्ययोजना नदेखिएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयतर्फ बोल्दै उनले कुल बजेटको अत्यन्त न्यून हिस्सा मात्र विनियोजन गरिएकोमा असन्तुष्टि व्यक्त गरिन्। कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स र अन्तरिक्ष प्रविधिबारे चर्चा गरिए पनि स्थानीय तहमा नवप्रवर्तन प्रवर्द्धन तथा वैज्ञानिक जनशक्ति संरक्षणका लागि ठोस योजना नभएको उनको भनाइ थियो।
उनले राष्ट्रिय कृत्रिम बुद्धिमत्ता नीति र तथ्याङ्क सुरक्षा नीति शीघ्र ल्याउन सरकारसँग माग गरिन्।
ऊर्जा क्षेत्रबारे टिप्पणी गर्दै सांसद ओलीले प्रसारण लाइन विस्तार तथा विद्युत् निर्यातको रणनीति सकारात्मक भए पनि आन्तरिक खपत वृद्धि गर्ने स्पष्ट योजना नदेखिएको बताइन्। बाह्य बजारमा निर्भरता बढ्दै जाँदा सम्भावित जोखिमलाई ध्यानमा राखी वैकल्पिक ऊर्जा सुरक्षा रणनीति तयार गर्नुपर्ने उनको सुझाव थियो।





प्रतिक्रिया दिनुहोस्