मोरङ–३ को जग्गा समस्या समाधानका लागि विशेष समिति गठन गर्न सांसद कार्कीको माग

काठमाडौं२, असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले मोरङ–३ क्षेत्रमा देखिएको जग्गा विवाद समाधानका लागि विशेष समिति गठन गर्नुपर्ने माग गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले उक्त क्षेत्रमा बारम्बार जग्गा विवाद र द्वन्द्व देखिँदै आएको उल्लेख गर्दै समस्या दीर्घकालीन रूपमा समाधान गर्न संस्थागत संयन्त्र आवश्यक रहेको बताए।

उनका अनुसार मोरङ–३ मा जग्गा खरिदबिक्रीका क्रममा बाहिरी समूह प्रवेश गर्ने, स्थानीयले प्रतिरोध गर्ने तथा प्रहरी प्रशासनको सहायतामा स्थिति नियन्त्रण गर्नुपर्ने अवस्था समेत देखिएको छ।

सांसद कार्कीले वास्तविक धनीपुर्जा भएका व्यक्तिहरू र वर्षौंदेखि भोगचलन गर्दै आएका स्थानीयबीच पटक–पटक विवाद उत्पन्न भइरहेको भन्दै यसले सामाजिक तनाव बढाइरहेको बताए।

उनले भने, “त्यहाँ धनीपुर्जा देखाउने र भोगचलन गर्नेबीच विवाद दोहोरिरहन्छ। यस्तो समस्या पटक–पटक देखिएको छ।”

उनले मोरङ–३ का बासिन्दाको लालपुर्जाको सपना “क्षणिक आशा जस्तै” हुने अवस्था रहेको टिप्पणी गर्दै समस्या समाधानका लागि विशेष समिति बनाएर स्थायी समाधान खोजिनुपर्ने धारणा राखे।

सांसद कार्कीले समिति गठन नभएसम्म तत्कालका लागि पीडित हुने अवस्था रोक्न र शान्त वातावरण कायम राख्न सरकारसँग आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्