पूर्वाधार विकास समितिमा मन्त्री अनुपस्थित, स्पष्टीकरण मागिने

काठमाडौं २, असार । प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले पूर्वाधार विकास मन्त्री सुनिल लम्साल बैठकमा अनुपस्थित हुनु गम्भीर विषय भएको भन्दै असन्तुष्टि जनाएका छन्।

मंगलबार बसेको समितिको बैठकमा सभापति गजुरेलले पूर्वजानकारी दिँदादिँदै पनि मन्त्री अनुपस्थित हुनु अनुचित भएको बताए। उनले यस विषयमा मन्त्रालयसँग औपचारिक स्पष्टीकरण माग गरिने जानकारी दिए।

सभापति गजुरेलले निर्माण तथा यातायात क्षेत्रका समस्याहरू समाधानका लागि मन्त्रीको उपस्थिति अनिवार्य रहेको भन्दै पहिलो बैठकमै मन्त्री नआउनु प्रश्न उठाउने विषय भएको बताए।

उनले भने, “यसमा सम्बन्धित मन्त्रालयका मन्त्रीज्यू अनिवार्य रूपमा उपस्थित हुनुपर्छ भन्ने हाम्रो धारणा हो। त्यसैअनुसार जानकारी गराएर बैठक राखिएको हो। एजेन्डाको गम्भीरता बुझेर छलफल गर्नुपर्ने भएकाले मन्त्री उपस्थित हुनुपर्छ।”

उनका अनुसार मन्त्रीलाई शुक्रबार नै जानकारी गराइए पनि बैठकमा अनुपस्थित हुनु परेको कारणबारे स्पष्टिकरण मागिनेछ।

बैठकमा सभापति गजुरेलले सडक सुरक्षा र यातायात व्यवस्थापनजस्ता गम्भीर विषयमा सरकारको ध्यान पर्याप्त रूपमा नपुगेको आरोप समेत लगाए।

नेपालमा दैनिक औसत सात जनाको सडक दुर्घटनामा मृत्यु हुने तथ्यांक उल्लेख गर्दै उनले सडक सुरक्षा राष्ट्रिय चिन्ताको विषय बनेको बताए।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद धनेन्द्र कार्की, नेपाली कांग्रेसकी सांसद बासना थापा र नेकपा एमालेकी सांसद नीता घतानीले पनि मन्त्रीको अनुपस्थितिप्रति कडा प्रश्न उठाएका थिए।

प्रतिक्रिया दिनुहोस्