प्रहरी कार्यालयको जग्गा खाली गर्न स्थानीयले थाले संरचना हटाउने काम
काठमाडौं २, असार। इलाका प्रहरी कार्यालय तुलसीपुरको नाममा दर्ता रहेको जग्गा अतिक्रमण गरी बसोबास गर्दै आएका नौ जना स्थानीयले स्वेच्छाले जग्गा खाली गर्न सुरु गरेका छन्।
प्रहरी कार्यालय र स्थानीयबीच भएको छलफलपछि उनीहरूले आफैँ संरचना हटाउन थालेका हुन्। यसअघि कार्यालयले १२ जेठमा १५ दिने सूचना जारी गर्दै जग्गा खाली गर्न निर्देशन दिएको थियो।
कार्यालयका अनुसार स्रेस्ता दर्ता कायम रहेको कित्ता नम्बर २६८३ को कुल १८६२.४६ वर्गमिटर जग्गामध्ये उत्तरतर्फको करिब दुई कट्ठा क्षेत्र खाली गरिएको छ। सो क्षेत्रमा निर्माण भएका नौ वटा घरहरू हटाउन सुरु गरिएको छ।
स्थानीयले घर खाली गर्ने क्रममा आफ्ना सरसामानहरूलाई इलाका प्रहरी कार्यालयले तोकिएको स्थानमा सुरक्षित रूपमा सार्ने व्यवस्था मिलाइएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार सो स्थानमा बसोबास गरिरहेका दुई सुकुम्वासी परिवारको व्यवस्थापन तुलसीपुर नगरपालिकाले जिम्मा लिएपछि संरचना हटाउने प्रक्रिया अघि बढाइएको हो।
प्रहरी कार्यालयले क्रमशः बाँकी संरचना पनि हटाइने र जग्गा पूर्ण रूपमा खाली गरिने जनाएको छ।





प्रतिक्रिया दिनुहोस्