ठेकेदारलाई कानुनी कारबाही गर्नुपर्ने, भौतिक धम्की स्वीकार्य छैन : सांसद थापा

काठमाडौं २, असार। नेपाली कांग्रेसकी सांसद बासना थापाले पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काममा ढिलाइ गर्ने निर्माण व्यवसायीलाई “खुट्टा भाँचिदिने” भन्ने अभिव्यक्ति कानुनी शासन विपरीत भएको बताएकी छन्।

प्रतिनिधि सभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले काम नगर्ने निर्माण व्यवसायीलाई कानुनी प्रक्रिया अपनाएर मात्र कारबाही गर्नुपर्नेमा जोड दिइन्।

सांसद थापाले ठेकेदारलाई कालोसूचीमा राख्ने, कानुनी दायरामा ल्याउने वा अन्य विधिसम्मत उपायमार्फत कारबाही गर्न सकिने भए पनि भौतिक धम्की वा हिंसात्मक अभिव्यक्ति स्वीकार्य हुन नसक्ने स्पष्ट पारिन्।

उनले समितिको बैठक मन्त्रीबिना सञ्चालन भएकोप्रति पनि असन्तुष्टि जनाउँदै मन्त्रीको उपस्थितिमा मात्रै महत्वपूर्ण छलफल अघि बढाइनुपर्ने बताइन्।

“मैले पूर्वाधार विकास समितिमा मन्त्रीज्यूसँग केही महत्वपूर्ण विषयमा कुरा राख्न चाहेको थिएँ। विशेषगरी ‘ठेकेदारको खुट्टा भाँचिदिन्छु’ भन्ने अभिव्यक्तिबारे स्पष्टता लिन चाहन्थेँ। तर मन्त्रीज्यू उपस्थित हुनुभएन,” उनले भनिन्।

सांसद थापाले प्रतिपक्षको भूमिका अवरोध सिर्जना गर्नु नभई सुशासन सुनिश्चित गर्नु भएको बताउँदै राज्य सञ्चालन विधि, नीति र कानुनअनुसार हुनुपर्नेमा जोड दिइन्।

उनले थपिन्, “ठेकेदारले गल्ती गरेको भए कानुनी दायरामा ल्याउने हो, तर धम्कीपूर्ण भाषा प्रयोग गर्नु उचित होइन। यसले काम गर्ने वातावरणमा त्रास सिर्जना गर्छ।”

सांसद थापाले कर्णाली प्रदेशका सडक आयोजनाको अवस्थाप्रति पनि ध्यानाकर्षण गराउँदै निर्माण सम्पन्न भइसकेका केही सडकमा अझै अनुमति र मूल्यांकन प्रक्रिया पूरा नभएको विषय उठाइन्। यसले सार्वजनिक स्रोतको प्रभावकारी उपयोगमा प्रश्न उठाएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्