पार्टीभित्र सुधार नआए पार्टी संकटमा पर्न सक्छ : एमाले नेता सुब्बा
काठमाडौं २, असार । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता विजय सुब्बाले पार्टीभित्रका गतिविधिप्रति असन्तुष्टि जनाउँदै नेतृत्वमा सुधार नगरे पार्टी संकटमा पर्न सक्ने चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पार्टीभित्र असल नियत भएका नेताहरूलाई जिम्मेवारी नदिने हो भने पार्टीको भविष्य जोखिममा पर्ने बताएका हुन्।
उनले लेखेका छन्, “आदरणीय पार्टीका निष्ठावान् कमरेडहरू, म पार्टी निर्माण अभियानमा त्यसै हारेको होइन। पार्टीलाई कमजोर बनाइरहेका गैरकम्युनिस्ट विकृति र विसङ्गति सच्याउनुपर्छ भनेर मैले मुख्य नेताहरूलाई पटक–पटक स्पष्ट रूपमा भनेँ।”
सुब्बाका अनुसार उनले विधान महाधिवेशनदेखि विभिन्न तहका अधिवेशनसम्म आफ्ना धारणा राखे पनि आफूलाई पार्टीविरोधी भनिएको आरोप लगाइएको थियो।
उनले पार्टीभित्र सुधारको सट्टा चाकरी र नेताहरूलाई खुशी पार्ने प्रवृत्ति हाबी भएको आरोप समेत लगाएका छन्। उनका अनुसार यस्ता प्रवृत्तिले समस्याहरू थुप्रिँदै गएको र पार्टी वर्तमान अवस्थासम्म आइपुगेको हो।
उनले अन्त्यमा लेखेका छन्, “भएका मध्येका र किनारा लगाइएका असल नियतका नेताहरूलाई नेतृत्वमा नल्याउने हो भने पार्टीको भविष्य संकटमा पर्छ।”





प्रतिक्रिया दिनुहोस्