संविधान संशोधनको नाममा प्राप्त अधिकार खोस्ने प्रयास स्वीकार्य हुँदैन : वर्षमान पुन
काठमाडौं २, असार । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले संविधान संशोधनको नाममा नेपाली जनताले लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त गरेका राजनीतिक उपलब्धि तथा अधिकारहरू खोस्ने प्रयास भए स्वीकार्य नहुने बताएका छन्।
मगर समुदायको भुमे पर्वको अवसरमा दाङको देउखुरीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेता पुनले संघीयता, समावेशिता तथा समुदायगत भाषा, संस्कृति र पहिचानसँग सम्बन्धित अधिकारहरूबाट वर्तमान सरकार र सरकारको नेतृत्वकर्ता दल पछि हट्न सक्ने आशंका व्यक्त गरे।
उनले संविधान संशोधनका नाममा जनताले उपभोग गरिसकेका अधिकारहरू कटौती गर्ने वा कमजोर बनाउने प्रयास भए त्यसको विरोध हुने स्पष्ट पारे। “संविधान संशोधन गर्नै नहुने भन्ने होइन, तर २०७२ सालमा संविधान जारी हुनुअघि उठेका र अझै सम्बोधन हुन बाँकी रहेका जनताका एजेन्डाहरूलाई समेट्न सकिन्छ। तर, जनताले प्राप्त गरिसकेका अधिकार खोस्ने प्रयास किमार्थ स्वीकार्य हुन सक्दैन,” उनले भने।
नेता पुनले २०५२ सालमा सुरु भएको जनयुद्धले राज्यबाट उत्पीडनमा परेका समुदायलाई अधिकारको मूलधारमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै त्यसबाट प्राप्त उपलब्धिको संरक्षण गर्ने जिम्मेवारी पनि सबैको रहेको बताए।
उनले संविधान संशोधनबारे बहस भइरहेका बेला सरकार स्वयंले कार्यदल गठन गरेर बहसपत्र तयार गर्ने प्रक्रिया अघि बढाएको सन्दर्भ उल्लेख गर्दै जनताले प्राप्त गरेका अधिकारबाट राज्य पछि हट्न नहुने चेतावनी दिए।
पुनले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशीता, समानुपातिक प्रतिनिधित्व तथा समुदायका भाषा, संस्कृति र पहिचानसम्बन्धी अधिकारहरू नेपालको राजनीतिक आन्दोलनबाट स्थापित उपलब्धि भएकाले ती उपलब्धिको रक्षा गर्नुपर्नेमा जोड दिए।





प्रतिक्रिया दिनुहोस्