बजेट छलफलमा आरोप–प्रत्यारोप, संसदमा सांसदहरूबीच तिखो बहस

बाठमाडौं १, असार । प्रतिनिधि सभामा मन्त्रालयगत बजेट विनियोजनमाथिको छलफल जारी रहँदा सोमबार सांसदहरूबीच तिखो बहस भएको छ। बैठकमा ८ वटा मन्त्रालयको बजेटमाथि छलफल चलिरहेको छ भने सांसदहरूले आ–आफ्ना धारणा राखिरहेका छन्।

छलफलका क्रममा नेकपा (एमाले) की सांसद यशोदा कुमारी बरालले वर्तमान सरकारले ठूला–ठूला नारा मात्रै दिएको आरोप लगाइन्। उनले ‘ग्रेटर नेपालको नक्सा’ जस्ता विषय सामाजिक सञ्जालमा उठाइए पनि गरिब जनताको पीडा नबुझिएको टिप्पणी गरिन्।

बरालले सरकारमाथि कर्णाली, सुदूरपश्चिम र मधेशलाई देखाएर राजनीतिक लाभ लिने प्रयास भएको आरोप लगाउँदै नयाँ–पुराना भन्ने विभाजन नगर्न पनि आग्रह गरिन्। उनले आफू पनि ‘नयाँ नै’ भएको उल्लेख गर्दै विकासको दृष्टिकोण व्यवहारिक हुनुपर्ने बताइन्।

उक्त अभिव्यक्तिको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले नियमापत्ति जनाउँदै आपत्ति प्रकट गरिन्। उनले सरकारमाथि लगाइएका आरोपको प्रमाण माग गर्दै ‘कसले बेचेको हो? के बेचेर भन्नुभएको?’ भन्दै प्रश्न उठाइन्।

सभामुख डोलप्रसाद अर्यालले उनलाई नियमअनुसार अघि बढ्न आग्रह गरेपछि तामाङले आफ्नो धारणा राखेकी थिइन्। त्यस क्रममा उनले सभामुखलाई सम्बोधन नगरेको विषय पनि उठेको थियो।

सांसद बरालले पनि तामाङको व्यवहारप्रति टिप्पणी गर्दै संसदमा शिष्टाचार र मर्यादा कायम हुनुपर्ने बताइन्।

छलफलका क्रममा सांसद बरालले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूले अस्वच्छ खाना खानुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराउँदै बजेटले गरिब वर्गलाई पर्याप्त सम्बोधन नगरेको आरोपसमेत लगाइन्।

प्रतिक्रिया दिनुहोस्