शिक्षा क्षेत्रमा सहकार्य विस्तार, शिक्षामन्त्री पोखरेल र स्वीस राजदूतबीच भेटवार्ता
बाठमाडौं १, असार । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत ड्यानिएल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन तथा नेपालको शिक्षा क्षेत्रमा स्वीस सरकारले गर्दै आएको सहयोगबारे छलफल भएको मन्त्रालयले जनाएको छ।
भेटमा विशेषगरी प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालीम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालनमा रहेका कार्यक्रमहरूको प्रभावकारिता र विस्तारबारे समीक्षा गरिएको थियो। हाल स्वीस सरकारको विकास साझेदार संस्था स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड को–अपरेसन (एसडीसी) को सहयोगमा ‘नेश्नल भोकेशनल क्वालिफिकेसन सिस्टम’, ‘इन्ह्यान्स्ड स्किल फर सस्टेनेबल एन्ड रिवार्डिङ इम्प्लोइमेन्ट’ र ‘क्वालिटी टेक्निकल एन्ड भोकेशनल एजुकेसन एन्ड ट्रेनिङ फर युथ’ परियोजनाहरू सञ्चालनमा रहेका छन्।
मन्त्री पोखरेलले नेपाल–स्वीस सम्बन्ध सधैं सौहार्दपूर्ण रहेको उल्लेख गर्दै शिक्षा क्षेत्रमा निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरे। उनले सीटीईभीटी ऐनको मस्यौदा तयार पार्ने प्रक्रिया अघि बढिरहेको र प्राविधिक शिक्षालाई समयसापेक्ष बनाउन विज्ञ परामर्श लिइरहेको जानकारी दिए।
उनले प्राविधिक तथा व्यावसायिक शिक्षालाई रोजगारमुखी बनाउँदै डिजिटाइजेशन, समावेशी शिक्षा र विशेष आवश्यकता भएका बालबालिकाका लागि अटिजम विद्यालय स्थापना गर्ने सरकारको योजनाबारे पनि जानकारी गराए।
राजदूत ड्यानिएल मेउलीले नेपाल सरकारसँगको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउँदै सञ्चालनमा रहेका तीन परियोजनालाई एकीकृत गरी थप प्रभावकारी बनाउने प्रस्ताव राखेका छन्।
भेटवार्तालाई नेपाल–स्वीस शिक्षा साझेदारी सुदृढ गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।





प्रतिक्रिया दिनुहोस्