सुस्तामा सशस्त्र प्रहरीको स्थायी क्याम्पको माग, सीमा सुरक्षाबारे सरकारको ध्यानाकर्षण

बाठमाडौं १, असार । नेकपा (एमाले) राष्ट्रिय सभा सचेतक रोशनी मेचेले सुस्ता क्षेत्रको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको स्थायी सीमा सुरक्षा क्याम्प स्थापना गर्न सरकारसँग माग गरेकी छिन्।

सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले नेपाली भूमिको रक्षा गर्न सरकारले तत्काल ठोस कदम चाल्नुपर्नेमा जोड दिइन्।

उनले हालै सुस्ता क्षेत्रमा भएको भनिएको सीमा गतिविधिप्रति आपत्ति जनाउँदै उक्त क्षेत्रमा स्थायी सुरक्षा व्यवस्था आवश्यक रहेको बताइन्। साथै, सीमा सुरक्षाका लागि निरन्तर गस्ती र निगरानी बढाउनुपर्ने उनको भनाइ थियो।

सचेतक मेचेले सीमा विवाद समाधानका लागि कूटनीतिक पहललाई तीव्र बनाउन पनि सरकारलाई आग्रह गरिन्। उनले सुगौली सन्धिलाई आधार मानेर सीमा स्तम्भ पुनःस्थापना तथा व्यवस्थापनका विषयमा भारतसँग प्रभावकारी वार्ता अघि बढाउनुपर्ने धारणा राखिन्।

उनले सीमा क्षेत्रमा भइरहेका गतिविधिबाट नेपाली भूमिको सुरक्षा कमजोर हुन नदिन सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै स्थायी सीमा स्तम्भ निर्माण र सशस्त्र प्रहरीको नियमित उपस्थिति सुनिश्चित गर्न माग गरिन्।

प्रतिक्रिया दिनुहोस्