बझाङकी स्वास्थ्यकर्मी अनिशा धामीको शंकास्पद मृत्यु, छानबिनको माग

बाठमाडौं १, असार । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले बझाङकी २३ वर्षीया स्वास्थ्यकर्मी अनिशा धामीको शंकास्पद मृत्युबारे सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले दुर्गम क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीको मृत्यु घटनालाई सामान्य रूपमा लिन नहुने भन्दै तत्काल छानबिन गर्नुपर्ने माग गरे।

महरका अनुसार बझाङको केदारस्युँ गाउँपालिका–७ निवासी धामी खोटाङको बरपोखरी गाउँपालिकामा अनमीका रूपमा कार्यरत थिइन्। आइतबार राति उनी आफ्नै कोठामा मृत अवस्थामा फेला परेको जानकारी प्राप्त भएको उनले बताए।

उनले घटनाप्रति आशंका व्यक्त गर्दै मृत्युलाई सामान्य दुर्घटना मान्न नसकिने जिकिर गरे। “स्वस्थ अवस्थामा कोठामा सुतेकी युवती बिहान मृत भेटिनु गम्भीर विषय हो,” भन्दै उनले निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताए।

महरले सरकारमाथि आलोचना गर्दै उच्च तहका जिम्मेवार व्यक्तिहरू निष्क्रिय रहेको आरोप पनि लगाए। साथै, घटनाको सत्यतथ्य पत्ता लगाई संलग्न जोसुकै भए पनि कानुनी कारबाही गर्नुपर्ने माग गरे।

यस घटनाले दुर्गम क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीको सुरक्षाबारे पुनः बहस सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस्