सीमा सुरक्षा र कूटनीतिक पहलबारे सरकारलाई रास्वपा सांसद तामाङको आग्रह
बाठमाडौं १, असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नेपाल–भारत सीमासम्बन्धी विषयमा सरकारले गम्भीर छानबिन गर्दै आवश्यक कूटनीतिक पहल अघि बढाउनुपर्ने बताएकी छन्।
प्रतिनिधि सभा बैठकमा बोल्दै उनले देशको भूमि र सीमाको रक्षा राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै यसमा कमजोरी भए सार्वभौमिकतामै प्रश्न उठ्ने चेतावनी दिइन्।
उनका अनुसार सीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि नेपाल सरकारले सबै विषयमा सचेत छानबिन गर्नुपर्ने र आवश्यक परे दुई देशको सहमतिमा सीमा क्षेत्रमा पर्खाल वा काँडे तारबार जस्ता संरचना निर्माण गर्न सकिने विकल्पसमेत अघि सारिनुपर्ने हुन्छ।
सांसद तामाङले सुस्ता क्षेत्रमा लामो समयदेखि चलिरहेको सीमा विवाद अझै समाधान नभएको बताउँदै गण्डकी नदीको धार परिवर्तनका कारण त्यहाँ ठूलो मात्रामा नेपाली भूमि विवादित बनेको उल्लेख गरिन्।
त्यस्तै, पछिल्लो समय सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) को गतिविधि र स्थानीय नागरिकमाथि धम्की दिएको भन्ने समाचारप्रति ध्यानाकर्षण गराउँदै उनले त्यसबारे सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गरिन्।
उनले लिपुलेक–लिम्पियाधुरा–कालापानी जस्ता संवेदनशील क्षेत्र मात्र नभई अन्य सीमावर्ती क्षेत्रमा पनि विभिन्न प्रकारका विवाद र चुनौतीहरू कायम रहेको उल्लेख गर्दै दीर्घकालीन समाधानका लागि कूटनीतिक पहल आवश्यक रहेको बताइन्।
सीमा सुरक्षा र राष्ट्रिय अखण्डतासँग सम्बन्धित विषयमा सरकारले ठोस रणनीति बनाएर अघि बढ्नुपर्ने उनको जोड थियो।





प्रतिक्रिया दिनुहोस्