रचनात्मक आलोचना दबाउन धम्कीको राजनीति सुरु भयो : पद्मा अर्याल
बाठमाडौं १, असार ।नेकपा एमालेकी उपनेता तथा पूर्वमन्त्री पद्मा अर्यालले सरकारले रचनात्मक आलोचनालाई दबाउन धम्कीको राजनीति सुरु गरेको आरोप लगाएकी छन्।
प्रतिनिधि सभा बैठकमा बोल्दै अर्यालले अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमाथिको छलफलको जवाफ दिने क्रममा गैरजिम्मेवार शैली प्रस्तुत गरेको टिप्पणी गरिन्। उनले सरकारलाई विपक्षीसँग सम्बन्धित भनिएका सबै फाइल सार्वजनिक रूपमा खोल्न चुनौती दिँदै सत्यतथ्य बाहिर ल्याउन आग्रह गरिन्।
‘फाइल खोल्ने धम्की दिनुभएको छ। आज पनि म भन्छु, नम्बर वान टि इस्टेटको फाइल पहिलो नम्बरमै खोलियोस्,’ अर्यालले भनिन्, ‘प्रतिपक्षसँग जोडिएका ओम्नी, वाइडबडी वा अन्य जुनसुकै फाइल छन्, ती सबै खोलियोस्। सत्य जे हो, त्यो देशका सामु ल्याइयोस्।’
उनले प्रतिपक्ष कुनै पनि छानबिनबाट नभाग्ने स्पष्ट पार्दै निष्पक्ष अनुसन्धानका लागि आफूहरू तयार रहेको बताइन्।
अर्यालले संसदमा आधारविहीन आरोप लगाएर राजनीतिक लाभ लिन खोज्नु उचित नहुने धारणा राखिन्। छानबिनपछि आरोप पुष्टि हुन नसके त्यसको नैतिक जिम्मेवारी सरकार पक्षले लिनुपर्ने उनको भनाइ थियो।
‘गम्भीर आरोप लगाउने, व्यक्तिको स्वाभिमानमाथि प्रहार गर्ने तर आरोप प्रमाणित नभए जिम्मेवारी नलिने प्रवृत्ति स्वीकार्य हुँदैन,’ उनले भनिन्, ‘यदि लगाइएका आरोपहरू सत्य सावित भएनन् भने त्यसको जवाफदेही बन्ने साहस सरकारसँग छ कि छैन?’
उनले राजनीतिक प्रतिशोधभन्दा सत्य र तथ्यका आधारमा छानबिन अगाडि बढाउन सरकारलाई आग्रह गरिन्। संसदमा उठेका सबै विषयको निष्पक्ष अनुसन्धान गरी वास्तविकता सार्वजनिक गर्नुपर्नेमा अर्यालले जोड दिइन्।





प्रतिक्रिया दिनुहोस्