संसदीय रेकर्डबाट प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्ति हटाउन श्रम संस्कृति पार्टीको पुनः माग
बाठमाडौं १, असार । श्रम संस्कृति पार्टीले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउनुपर्ने आफ्नो माग पुनः दोहोर्याएको छ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै पार्टी अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिबारे सभामुखको निर्णयको प्रतीक्षा भइरहेको बताए।
उनले भने, “प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाइयोस् भन्ने हाम्रो माग थियो। सभामुखज्यूले त्यो कहिले हटाउने आदेश दिनुहुन्छ होला भनेर हामी व्यग्र पर्खिरहेका छौं।”
प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा सीमा विवादसँग सम्बन्धित अभिव्यक्ति दिएका थिए।
उक्त क्रममा नेपालले समेत भारतको केही भूभाग मिचेको आशय व्यक्त भएको भन्दै विपक्षी दलहरूले आपत्ति जनाउँदै आएका छन्। सो अभिव्यक्तिलाई लिएर संसद्भित्र र बाहिर राजनीतिक बहस जारी रहेको छ।
श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय हित र संवेदनशील विषयमा भ्रम सिर्जना गरेको दाबी गर्दै संसदीय रेकर्डबाट हटाउनुपर्ने माग निरन्तर उठाउँदै आएको छ।





प्रतिक्रिया दिनुहोस्