आज सातै प्रदेशले ल्याउँदै बजेट, कोशी प्रदेशको आकार करिब ४० अर्ब पुग्ने

काठमाडौं १,असार । मुलुकका सातै प्रदेश सरकारले आज आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछन्। संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारहरूले प्रत्येक वर्ष असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुपर्ने प्रावधान छ।

कोशी प्रदेश सरकारले अघिल्लो वर्षको तुलनामा बजेटको आकार बढाउँदै करिब ४० अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। प्रदेश सभाको आज अपराह्न ४ बजे बस्ने बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बिदुर लिङ्थेपले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रदेश सरकार स्रोतका अनुसार यसपटक बजेटको आकार र वित्तीय कार्यक्रमको दायरा विगतको तुलनामा फराकिलो बनाइएको छ। चालु आर्थिक वर्षका लागि सुरुआतमा ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट ल्याइए पनि मध्यावधि समीक्षापछि त्यसलाई घटाएर ३२ अर्ब ४५ करोड ६४ लाख रुपैयाँमा सीमित गरिएको थियो।

आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट प्राप्त हुने करिब १६ अर्ब ५० करोड रुपैयाँ अनुदान, राजस्व बाँडफाँटबाट प्राप्त हुने करिब १३ अर्ब रुपैयाँ, प्रदेशको आन्तरिक आम्दानी तथा सञ्चित कोषमा रहेको रकमलाई आधार बनाएर बजेटको आकार बढाइएको बताइएको छ।

यसपटकको बजेटमा प्रदेश सभा सदस्य केन्द्रित विकास कार्यक्रमका लागि उल्लेख्य रकम विनियोजन गरिने भएको छ। स्रोतका अनुसार प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्यले आफ्नो क्षेत्रमा सञ्चालन गर्ने विकास योजनाका लागि ४ करोड रुपैयाँसम्मका कार्यक्रम समावेश गरिनेछ भने समानुपातिकतर्फबाट निर्वाचित सदस्यका लागि २ करोड ५० लाख रुपैयाँसम्मका योजना बजेटमा राखिने तयारी गरिएको छ।

प्रदेश सांसदमार्फत सञ्चालन हुने यस्ता विकास कार्यक्रम विगतदेखि नै विवादको विषय बन्दै आएका छन्। जनप्रतिनिधिलाई विकास बजेटको प्रत्यक्ष पहुँच दिँदा उनीहरू नीति निर्माणभन्दा योजना कार्यान्वयनमा केन्द्रित हुने भन्दै आलोचना हुँदै आएको छ। यस विषयमा अदालतसम्म बहस पुगेको भए पनि प्रदेश सरकारले विभिन्न ढाँचामार्फत सांसद लक्षित विकास कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।

आज सार्वजनिक हुने बजेटले कोशी प्रदेशको विकास प्राथमिकता, पूर्वाधार विस्तार, रोजगारी सिर्जना तथा सेवा प्रवाह सुधारका कार्यक्रमलाई कति प्राथमिकता दिन्छ भन्नेमा सबैको चासो केन्द्रित रहेको छ।

प्रतिक्रिया दिनुहोस्