ठूला भ्रष्टाचार काण्डको छानबिन अघि बढ्यो, सुशासन सरकारको पहिलो प्राथमिकता : परराष्ट्रमन्त्री खनाल
काठमाडौं ३१ जेष्ठ । परराष्ट्रमन्त्री शिशिर खनालले २०६३ सालपछि भएका ठूला भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित प्रकरणहरूको छानबिन प्रक्रिया अगाडि बढाइएको बताएका छन्।
चीनको औपचारिक भ्रमणका क्रममा आइतबार बेइजिङमा आयोजित नेपाली डायस्पोरासँगको अन्तरक्रिया तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री खनालले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताए।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी भएपछि चुनावी प्रतिबद्धताअनुसार काम सुरु गरिएको उल्लेख गर्दै पुराना तथा ठूला भ्रष्टाचार काण्डहरूको अनुसन्धानका लागि विशेष कार्यदल गठन गरिएको जानकारी दिए।
“हामीले चुनावका बेला पुराना र ठूला भ्रष्टाचारका घटनाको छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेका थियौँ। सरकार गठनपछि २०६३ सालयताका भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयमा अनुसन्धान अघि बढाउन कार्यदल गठन गरिएको छ,” मन्त्री खनालले भने।
उनले सुशासनलाई भ्रष्टाचार नियन्त्रण र प्रभावकारी सार्वजनिक सेवा प्रवाहका दुई आधारमा परिभाषित गर्दै नागरिकले सहज रूपमा सरकारी सेवा प्राप्त गर्न सक्ने वातावरण निर्माणमा सरकार केन्द्रित रहेको बताए।
सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन सरकार लागिपरेको उल्लेख गर्दै उनले विदेशमा रहेका नेपालीका समस्या समाधानका लागि ‘मोफा मित्र’ एप सञ्चालनमा ल्याइएको जानकारी दिए। उक्त एपमार्फत गुनासो दर्ता भएलगत्तै सम्बन्धित दूतावाससँग समन्वय गरी समाधान प्रक्रिया सुरु हुने उनको भनाइ थियो।
मन्त्री खनालले विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय विकासमा उपयोग गर्न सरकार इच्छुक रहेको बताउँदै गैरआवासीय नेपाली समुदायसँग सहकार्य बढाइने बताए।
आर्थिक समृद्धि सरकारको दोस्रो प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै उनले हरेक वर्ष ठूलो संख्यामा युवा विदेशिनु मुलुकका लागि चुनौती बनेको बताए। नेपालमै पर्याप्त रोजगारी सिर्जना गरेर युवालाई स्वदेशमै अवसर उपलब्ध गराउने दिशामा सरकार केन्द्रित रहेको उनको भनाइ थियो।
नेपाल हाल जनसांख्यिक लाभांशको अवस्थामा रहेको उल्लेख गर्दै उनले आगामी वर्षहरूमा काम गर्न सक्ने जनशक्ति घट्ने सम्भावना भएकाले अहिलेको समयलाई आर्थिक विकासका लागि सदुपयोग गर्नुपर्ने आवश्यकता औँल्याए।
चीनसहित विभिन्न मुलुकमा रहेका नेपालीलाई नेपालको विकास अभियानमा सहभागी हुन आह्वान गर्दै मन्त्री खनालले कानुनी तथा नीतिगत सुधारमार्फत लगानी, सीप र अनुभवलाई स्वदेशसँग जोड्ने वातावरण निर्माण गरिने बताए।
उनले नेपाल निर्माण सरकार वा कुनै एक पक्षको मात्र जिम्मेवारी नभई देशभित्र र विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको साझा दायित्व भएको उल्लेख गर्दै विकास र समृद्धिको यात्रामा सहकार्य गर्न आग्रह गरे।





प्रतिक्रिया दिनुहोस्