नयाँ राष्ट्रवादी पार्टी गठनको तयारीमा धवल शमशेर राणा, नेतृत्व दुर्गा प्रसाईंलाई दिने घोषणा

काठमाडौं ३१ जेष्ठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका नेता धवल शमशेर राणाले नयाँ राष्ट्रवादी राजनीतिक शक्ति निर्माणको तयारी भइरहेको बताएका छन्।

काठमाडौंमा आइतबार आयोजित ‘राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रम’ मा बोल्दै उनले वर्तमान सरकारप्रति जनस्तरमा प्रश्न उठ्न थालेको दाबी गर्दै त्यसको विकल्पका रूपमा नयाँ पार्टी गठन गर्न लागिएको बताएका हुन्।

राणाले नयाँ पार्टीको नेतृत्व मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गर्ने जानकारी दिए। राजा र हिन्दु राष्ट्रको एजेन्डालाई लिएर प्रसाईं देशव्यापी रूपमा परिचित व्यक्तित्व बनिसकेको र उनीसँग सहकार्यका लागि सहमति भएको उनले बताए।

उनका अनुसार पार्टीको नेतृत्व र सार्वजनिक परिचय प्रसाईंको रहनेछ भने संगठन निर्माण र सञ्चालनमा अन्य नेताहरूको भूमिका रहनेछ।

राणाले राप्रपा नेतृत्वले राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको एजेन्डालाई प्रभावकारी रूपमा अघि बढाउन नसकेको आरोप लगाउँदै ती एजेन्डाको संरक्षण र पुनर्स्थापनाका लागि नयाँ राजनीतिक शक्ति आवश्यक भएको बताए।

उनले देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै राजसंस्थासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको पक्षमा जनमत निर्माण गर्ने लक्ष्यसहित नयाँ दल अघि बढ्ने बताए।

राणाले आगामी स्थानीय तह निर्वाचनमा समेत नयाँ पार्टी सहभागी हुने जानकारी दिँदै केही प्राविधिक तथा सांस्कृतिक कारणले पार्टीको नाम, झण्डा र अन्य औपचारिक विवरण भने पछि सार्वजनिक गरिने बताए।

उनले आगामी केही महिनाभित्र नयाँ दललाई देशव्यापी रूपमा संगठित र प्रभावशाली राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने दाबी समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्