विशेष महाधिवेशनबाट आएको केन्द्रीय समिति खारेज गर्न कांग्रेस नेता शाहीको माग
काठमाडौं ३१ जेष्ठ । नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले विशेष महाधिवेशनबाट बनेको केन्द्रीय समिति खारेज गर्नुपर्ने माग गरेका छन्।
काठमाडौंमा आयोजित युवा भेलामा बोल्दै उनले पार्टी एकताका लागि वर्तमान केन्द्रीय समिति खारेज गर्नु पहिलो कदम हुनुपर्ने बताएका हुन्।
उनका अनुसार गत पुसमा सम्पन्न विशेष महाधिवेशनमार्फत गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति गठन भए पनि उक्त प्रक्रिया विवादित रहेको छ। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार भएको भनिएको सो महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्ष सहभागी नभएको उनले उल्लेख गरे।
यद्यपि निर्वाचन आयोग र सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैधानिक ठहर गरिसकेको अवस्थामा पनि त्यसबाट बनेको कार्यसमिति खारेज गर्नुपर्ने आफ्नो अडान रहेको शाहीले बताए।
उनले भने, “विशेष महाधिवेशनका नाममा बनेको यो केन्द्रीय समिति खारेज गर्नुपर्छ। भ्रातृ संस्थाहरूमा गरिएको टिके नियुक्ति पनि खारेज हुनुपर्छ।”
शाहीले हाल पार्टीभित्र क्रियाशील सदस्यता डिजिटल प्रक्रियाको नाममा धाँधली हुन लागेको आरोप पनि लगाए।
उनका अनुसार सदस्यता अद्यावधिकका नाममा आफूहरूलाई अन्यायपूर्ण रूपमा बाहिर राखिएको छ।
उनले पार्टीमा पुरानै नवीकरणका आधारमा १५औँ महाधिवेशन गर्नुपर्ने र नेतृत्व क्रमशः जेनजी पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।





प्रतिक्रिया दिनुहोस्