कांग्रेसमा निष्ठावान् कार्यकर्ताको संरक्षण नभएको भन्दै नेता बलबहादुर केसीको असन्तुष्टि
काठमाडौं ३१ जेष्ठ । नेपाली कांग्रेसका नेता बलबहादुर केसीले पार्टीभित्र निष्ठावान् कार्यकर्ताको संरक्षण हुन नसकेको भन्दै नेतृत्वप्रति असन्तुष्टि जनाएका छन्।
विराटनगरमा कांग्रेस इतर पक्षले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफ्नो ५५ वर्ष लामो राजनीतिक जीवन, संघर्ष र पार्टीको वर्तमान अवस्थाबारे गम्भीर समीक्षा गरेका हुन्।
केसीले बीपी कोइरालाको सिद्धान्त र आदर्शलाई आत्मसात गर्दै आफूले साढे पाँच दशकदेखि निस्वार्थ रूपमा पार्टीका लागि काम गरेको बताए। उनले विगतका संघर्ष स्मरण गर्दै २०३६ सालको विद्यार्थी आन्दोलनमा आफूले भोगेको यातना र सात वर्ष जेल जीवनको अनुभव पनि सुनाए।
उनका अनुसार पार्टीको इतिहास र आन्दोलनमा ठूलो योगदान दिएका कार्यकर्ताहरूले अहिले उचित संरक्षण र सम्मान पाउन नसकेको अवस्था चिन्ताजनक छ।
राष्ट्रिय राजनीति जटिल अवस्थामा पुगेको उल्लेख गर्दै उनले कांग्रेस एकताबद्ध भएर अघि बढे मात्र वर्तमान चुनौती सामना गर्न सकिने बताए।
नेता केसीले भने, “राणा शासन हटायो, पञ्चायत हटायो, राजतन्त्र अन्त्य गरेर लोकतन्त्र ल्याएको कांग्रेसले आफ्नो इतिहास बिर्सनु ठूलो गल्ती हुनेछ।”
उनले पार्टीभित्र इमानदारिताको खडेरी परेको भन्दै अब भाषणमा मात्र होइन, व्यवहारमा पनि इमानदार भएर काम गर्नुपर्ने र कार्यकर्ताको भावना बुझ्नुपर्नेमा जोड दिए। साथै, कांग्रेस एकताका लागि दुवै पक्ष मिलेर अघि बढ्नुपर्ने आवश्यकता रहेको उनले बताए।





प्रतिक्रिया दिनुहोस्