एमालेभित्र पुनर्गठन बहस तीव्र, विजय सुब्बाको प्रश्न : ‘अन्ततः एमाले सक्ने भयौ?’

काठमाडौं ३१ जेष्ठ । नेकपा एमालेभित्र जारी पुनर्गठन बहसका बीच नेता विजय सुब्बाले पार्टी नेतृत्वलाई गम्भीर आत्मसमीक्षा र पुनर्गठनको सट्टा गुटगत बहसतर्फ मोडिएको भन्दै प्रश्न उठाएका छन्।

सुब्बाले सामाजिक सञ्जालमार्फत ‘गम्भीर आत्मसमीक्षा र नेतृत्व पुनर्गठनको विषयमा बोल्नुपर्नेमा को कतापट्टि भन्ने बहस सुरु गरेर अन्ततः एमाले सक्ने भयौ हैन?’ भन्दै टिप्पणी गरेका छन्।

उनका अनुसार पार्टीभित्रको वर्तमान बहसले संगठनलाई सुदृढ बनाउनुको सट्टा विभाजनतर्फ धकेल्ने जोखिम देखिएको छ।

यसैबीच, एमालेभित्र पुनर्गठनको विषय पेचिलो बन्दै गएको छ। शनिबार गुण्डुमा अध्यक्ष केपी शर्मा ओलीले आयोजित छलफलमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलप्रति असन्तुष्टि जनाउँदै उनीहरूलाई ‘लोभीपापी’को संज्ञा दिएका थिए।

बागमती प्रदेशका नेता–कार्यकर्तासँग पुनर्गठन कार्यदलको छलफलपछि अध्यक्ष ओलीले केही केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीलाई गुण्डुमा बोलाएर मध्यरातसम्म बैठकबारे जानकारी लिएका थिए।

पार्टीभित्रको पछिल्लो गतिविधिले एमालेभित्र नेतृत्व, पुनर्गठन र आन्तरिक एकताको विषय झनै चर्किंदै गएको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्