कांग्रेस संस्थापनइतर पक्षको आज कोशी प्रदेशस्तरीय भेला, शेखर र शशांक सँगै
काठमाडौं ३१ जेष्ठ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आज कोशी प्रदेशस्तरीय भेला आयोजना गर्दैछ। पार्टीभित्र बृहत्तर एकता र संगठन सुदृढीकरणको सन्देश दिन आयोजित भेलामा संस्थापनइतर पक्षका नेता तथा कार्यकर्ताको सहभागिता रहने बताइएको छ।
विराटनगरस्थित होटल मनास्लुमा हुने भेलाका प्रमुख अतिथि नेता शेखर कोइराला रहनेछन्। कार्यक्रममा संस्थापनइतर धाराका विभिन्न तहका नेता–कार्यकर्ताले पार्टीको वर्तमान अवस्था, संगठन विस्तार तथा आगामी रणनीतिबारे छलफल गर्ने जनाइएको छ।
भेलाअघि विराटनगरस्थित कोइराला निवासमा नेता शेखर कोइराला र पूर्वमहामन्त्री शशांक कोइराला सँगै देखिएका छन्। दुवै नेताको संयुक्त उपस्थितिलाई संस्थापनइतर पक्षभित्र एकताको सन्देशका रूपमा हेरिएको छ।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा सहभागी नभएको संस्थापनइतर पक्षले प्रदेशस्तरमा आफ्नो धारणा स्पष्ट पार्न र संगठनात्मक गतिविधिलाई तीव्रता दिन यो भेला आयोजना गरेको बताइएको छ।
भेलाले पार्टीभित्रको आन्तरिक एकता, नेतृत्वको भूमिका तथा आगामी राजनीतिक कार्यदिशाबारे महत्वपूर्ण सन्देश दिने अपेक्षा गरिएको छ।





प्रतिक्रिया दिनुहोस्