पार्टीविरुद्धका भ्रम चिर्दै एकताबद्ध भएर अघि बढ्नुपर्ने : महेश बस्नेत
काठमाडौं ३१ जेष्ठ । नेकपा एमालेका सचिव महेश बस्नेत ले पार्टीको पक्षमा दृढतापूर्वक उभिने नेता–कार्यकर्तामाथि गलत आरोप लगाएर लोकप्रिय बन्न खोज्ने तथा विरोधीसँग साटघाट गर्ने प्रवृत्तिले पार्टी निर्माण हुन नसक्ने बताएका छन्।
बागमती प्रदेश कमिटीको बैठक सम्पन्न भएपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बस्नेतले पार्टी, अध्यक्ष तथा नेता–कार्यकर्तामाथि भइरहेका चौतर्फी हमलाको एकताबद्ध रूपमा प्रतिरोध गर्ने संकल्पसहित बैठक सम्पन्न भएको बताएका हुन्।
उनले पार्टीविरुद्ध फैलाइएका भ्रमहरू चिर्दै जनतासँगको सम्बन्धलाई अझ सुदृढ बनाउने, सामाजिक न्याय र जनहितको पक्षमा पार्टीलाई मजबुत रूपमा उभ्याउने तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने दायित्व बहन गर्ने प्रतिबद्धता बैठकले व्यक्त गरेको उल्लेख गरेका छन्।
बस्नेतका अनुसार बैठकमा सहभागी अधिकांश नेताहरूले यही भावना अनुरूप आफ्नो धारणा राखेका थिए। फरक दृष्टिकोण राख्ने केही नेताहरूका सुझावलाई समेत गम्भीरतापूर्वक मनन गर्दै पार्टीलाई अझ सशक्त, संगठित र एकताबद्ध ढंगले अघि बढाउने प्रतिबद्धतासहित बैठक सम्पन्न भएको उनले बताएका छन्।
उनले पार्टीभित्रको एकता, संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तारलाई आगामी कार्यदिशाको प्रमुख आधार बनाइने संकेत गरेका छन्।





प्रतिक्रिया दिनुहोस्