सांसद आरेन राईको प्रश्न: “देश आफ्नै राजस्वले चलाउने योजना के हो?”

जेष्ठ, २९ काठमाडौं ।  विपक्षी श्रम संस्कृति पार्टीका सांसद आरेन राईले नेपालले आफ्नै राजस्वबाट देश सञ्चालन गर्ने स्पष्ट योजना आवश्यक रहेको बताएका छन्।

प्रतिनिधि सभामा शुक्रबार बजेटमाथिको छलफलमा बोल्दै उनले वैदेशिक ऋणमा निर्भर अर्थतन्त्रको विकल्प खोज्न सरकारलाई गम्भीर हुन आग्रह गरे। उनले ऋण व्यवस्थापनको दीर्घकालीन रणनीति स्पष्ट नभएको भन्दै अर्थमन्त्री वाग्लेप्रति असन्तुष्टि पनि व्यक्त गरे।

“हिजो वैदेशिक ऋण यति भयो भनेर आलोचना गर्नेहरू अहिले पनि हामी नयाँ भन्नेहरू छौँ। ऋण लिएर ऋण तिरिरहेका छौँ। अब आम नेपाली जनताले के गर्नुपर्ने? देश आफ्नै राजस्वबाट चलाउन के गर्नुपर्ने हो?” सांसद राईले प्रश्न गरे।

उनले सरकारसँग देशलाई आत्मनिर्भर बनाउने ठोस योजना माग गर्दै अर्थमन्त्रीले भावी रणनीति स्पष्ट पार्नुपर्ने बताए।

सांसद राईले सामाजिक न्याय र समावेशितासम्बन्धी कार्यक्रमहरूमा पनि बजेट कटौती भएको भन्दै असन्तुष्टि जनाए। उनले आदिवासी जनजाति आयोग, मधेसी आयोग, मुस्लिम आयोग र दलित आयोगजस्ता संवैधानिक निकायहरूको बजेट घटाइनु गलत भएको टिप्पणी गरे।

उनका अनुसार यी आयोगहरू ऐतिहासिक रूपमा पछाडि पारिएका समुदायलाई सशक्त बनाउन गठन गरिएका हुन् र यस्ता निकायमा बजेट बढाउनुपर्ने आवश्यकता रहेको छ।

प्रतिक्रिया दिनुहोस्