परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा, वाङ यीसँग उच्चस्तरीय वार्ता गर्ने

जेष्ठ, २९ काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल जेठ ३१ गते चीन भ्रमणमा जाने भएका छन्। परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस नोटअनुसार उनको भ्रमण जेठ ३१ गतेदेखि असार ३ गतेसम्म तय गरिएको हो।

चिनियाँ परराष्ट्रमन्त्री वाङ यी को निमन्त्रणामा मन्त्री खनाल चीन जान लागेका हुन्। भ्रमणका क्रममा उनले बेइजिङमा वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन्।

वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, आपसी हितका विविध क्षेत्रमा सहकार्य विस्तार गर्ने तथा समसामयिक क्षेत्रीय विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ। साथै, मन्त्री खनालले चीनका अन्य उच्चस्तरीय सरकारी अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।

भ्रमणका क्रममा मन्त्री खनालले नेपालमा विदेशी लगानी प्रवर्द्धन गर्न आयोजित एक इन्भेष्टमेन्ट कन्फरेन्समा समेत सहभागिता जनाउनेछन्। सो अवसरमा उनले चिनियाँ व्यवसायी समुदायसँग अन्तरक्रिया गर्नेछन्।

मन्त्री खनाल असार ३ गते नेपाल फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्