राष्ट्रिय गौरवका आयोजनाबारे सांसद पुष्पराज कँडेलको टिप्पणी

जेष्ठ, २९ काठमाडौं । नेकपा (एमाले) का सांसद पुष्पराज कँडेलले सरकारले प्रस्तुत गरेको वर्तमान बजेट विनियोजनले राष्ट्रिय गौरवका आयोजनाहरू आगामी २५ वर्षभित्र पनि सम्पन्न हुन नसक्ने बताएका छन्।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रमा २ वर्षभित्र सबै निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न गर्ने लक्ष्य राखिए पनि बजेटमा त्यसअनुसारको स्पष्ट योजना नदेखिएको बताए।

उनले मध्यपहाडी लोकमार्ग र कर्णाली करिडोर जस्ता आयोजनाको उदाहरण दिँदै ती परियोजनामा क्रमशः २ अर्ब र १ अर्ब रुपैयाँ मात्र विनियोजन गरिनु पर्याप्त नभएको र यसले वर्षौंसम्म आयोजना लम्बिने अवस्था सिर्जना गर्ने बताए।

कँडेलले अर्थ मन्त्रालयले विभिन्न शीर्षकमा करिब ५ खर्ब रुपैयाँ विनियोजन गरेको भए पनि त्यसको वर्गीकरण र स्पष्टता नभएको भन्दै प्रश्न उठाए।

उनले ठूला पूर्वाधार आयोजनालाई समयमै सम्पन्न गर्न बजेट पुनः प्राथमिकताका आधारमा व्यवस्थित गर्न सरकारलाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्