कृषि समस्या समाधान र पूर्वाधार योजनामा सरकारको ध्यानाकर्षण
जेष्ठ, २९ काठमाडौं । नेपाली कांग्रेसका सचेतक निष्कल राईले देशका विभिन्न कृषि क्षेत्रका समस्या र विकास आयोजनासँग सम्बन्धित विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले चिया, दूध र सुपारी किसानले भोगिरहेका समस्यालाई तत्काल समाधान गर्न सरकारसँग माग गरे।
उनले पूर्वी नेपालमा २०४१–४२ सालदेखि सुरु भएको व्यावसायिक चिया खेती अहिले गम्भीर सङ्कटमा पुगेको उल्लेख गर्दै उद्योगीहरूले समस्या समाधान नभए असार १ गतेदेखि उद्योग बन्द गरी सरकारलाई साँचो बुझाउने चेतावनी दिएको जानकारी दिए। साथै, छिमेकी मुलुकमा नेपाली चिया निर्यातमा देखिएको नीतिगत अवरोध हटाउन ‘जी–टु–जी’ माध्यममार्फत पहल गर्न र तेस्रो मुलुकमा बजार विस्तारमा सरकार सक्रिय हुनुपर्ने उनको माग थियो।
दुग्ध किसानले विगत ६ महिनादेखि भुक्तानी नपाएको विषय उठाउँदै उनले किसानको आर्थिक अवस्था र बालबालिकाको शिक्षा समेत प्रभावित भएको बताए। ऋण गरेर व्यवसाय चलाइरहेका किसानलाई समयमा भुक्तानी नहुँदा गम्भीर संकट सिर्जना भएको उनको भनाइ थियो।
त्यसैगरी, सुपारी खेतीलाई अझै पनि औपचारिक रूपमा कृषि उपजका रूपमा मान्यता नदिइएको र ढुवानी तथा ओसारपसारमा समेत समस्या देखिएको भन्दै उनले तत्काल नीतिगत सुधारको माग गरे।
सडक पूर्वाधारतर्फ मेची राजमार्ग विस्तारको विषय उठाउँदै सचेतक राईले सडकलाई १५ मिटर फराकिलो बनाउने कार्य अघि आवश्यक अध्ययन (निड एसेसमेन्ट) गर्नुपर्ने बताए। वैकल्पिक मार्गहरू उपलब्ध रहेको अवस्थामा बिना पर्याप्त अध्ययन विस्तारका नाममा स्थानीयलाई अनावश्यक समस्यामा पार्न नहुने उनको तर्क थियो।
सचेतक राईले सरकारलाई किसान र पूर्वाधार दुवै क्षेत्रमा देखिएका जटिलताप्रति तत्काल ठोस कदम चाल्न आग्रह गरेका छन्।





प्रतिक्रिया दिनुहोस्