सरकारको दोहोरो चरित्रले सुशासन कमजोर बनायो : सांसद खड्का

जेष्ठ, २९ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले सरकारले सुशासनको नारा दिए पनि व्यवहारमा दोहोरो चरित्र देखाइरहेको आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले गृहमन्त्रीसम्बन्धी नियुक्ति र निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका हुन्।

खड्काले सम्पत्ति शुद्धीकरणलगायतका गम्भीर आरोप लागेका तथा मानव अधिकार आयोगले समेत प्रश्न उठाएका व्यक्तिलाई पुनः गृहमन्त्री बनाइएको भन्दै सरकारको कडा आलोचना गरे।

उनले सरकारले दोषीमाथि कारबाही गर्नुको साटो पुरस्कृत गर्ने प्रवृत्ति देखाएको आरोप लगाए।

“गृहमन्त्रीज्यूमाथि सम्पत्ति लगायतका विषयमा प्रश्न उठेपश्चात छानबिन समिति बनाइयो। उक्त समितिले चोख्यायो भन्ने सुनिन्छ तर प्रतिवेदन सार्वजनिक गरिएको छैन,” खड्काले भने, “एकातिर सुशासनको नारा, अर्कोतिर आफ्नालाई पुरस्कृत गर्ने काम भइरहेको छ।”

उनका अनुसार मानव अधिकार आयोगको प्रतिवेदनले समेत सम्बन्धित व्यक्तिमाथि प्रश्न उठाएको भन्दै सरकारको निर्णय प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरे।

खड्काले सरकार आफैं दोषीको संरक्षण र पुरस्कृत गर्ने दिशामा अघि बढेको टिप्पणी गर्दै यसले सुशासन र कानुनी राज्यको अवधारणालाई कमजोर बनाएको बताए।

त्यसैगरी उनले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको भनिएको विवादास्पद अभिव्यक्तिप्रति पनि आपत्ति जनाउँदै त्यसलाई संसद्को रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्‍याए।

उनले सरकारको स्वेच्छाचारी शैलीले लोकतान्त्रिक मूल्य–मान्यता कमजोर बनिरहेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्