धवलशम्शेर राणा र दुर्गा प्रसाईं नयाँ पार्टी गठनको तयारीमा

जेष्ठ, २९ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका धवलशम्शेर राणा र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईं नयाँ राजनीतिक दल गठनको तयारीमा जुटेका छन्।

दुवै नेताबीच जेठ २२ गते नयाँ पार्टी स्थापना गर्ने सहमति भएपछि प्रसाईंले आफ्नो अभियान औपचारिक रूपमा बिसर्जन गरेका छन्। अब उनी पार्टी राजनीतिमार्फत सक्रिय हुने तयारीमा रहेका छन्।

राणा र प्रसाईंले ‘प्रजातान्त्रिक राष्ट्रवादी शक्ति निर्माण अभियान’ मार्फत नयाँ राजनीतिक शक्ति निर्माणको गृहकार्य गरिरहेका छन्। उनीहरूले मुलुकमा बलियो राष्ट्रवादी राजनीतिक शक्तिको आवश्यकता रहेको निष्कर्षसहित नयाँ दल गठनको प्रक्रिया अगाडि बढाएको बताएका छन्।

राप्रपा परित्याग गरेका राणाले पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्तालाई समेत आफ्नो अभियानमा समेट्ने प्रयास गरिरहेका छन्। उनीसँग राप्रपाका विभिन्न जिल्लाका नेता तथा कार्यकर्ता जोडिएको दाबी गरिएको छ।

राणाका अनुसार नयाँ पार्टीले संवैधानिक राजसंस्था, सनातन धर्म, राष्ट्रियता र प्रजातान्त्रिक मूल्यलाई आधार बनाएर राजनीति गर्नेछ। उनले नयाँ दल आम नागरिकको समर्थन र सहभागितामा आधारित जनमुखी राजनीतिक शक्ति हुने बताएका छन्।

पार्टीको नाम, चुनाव चिह्न, विधान तथा सांगठनिक संरचनाबारे अन्तिम गृहकार्य भइरहेको र मलमास समाप्त भएपछि पार्टी घोषणा गरिने तयारी रहेको राणाले जानकारी दिएका छन्।

धवलशम्शेर राणा र दुर्गा प्रसाईं पछिल्लो समय राजसंस्था पुनर्स्थापनाको पक्षमा सक्रिय रूपमा उभिँदै आएका छन्। २०८१ चैत १५ गते काठमाडौंमा भएको राजसंस्था पुनर्स्थापनासम्बन्धी आन्दोलनमा दुवै नेता एउटै मोर्चामा सक्रिय थिए।

उक्त आन्दोलनपछि दुवै नेताबीच राजनीतिक सहकार्य थप सुदृढ भएको र त्यसकै निरन्तरतास्वरूप नयाँ दल गठनको प्रक्रिया अघि बढाइएको बताइएको छ।

राप्रपा नेतृत्वले राजसंस्था पुनर्स्थापनाको आन्दोलनलाई प्रभावकारी रूपमा साथ नदिएको निष्कर्ष निकाल्दै राणा पार्टी परित्यागको निर्णयमा पुगेका थिए। राप्रपा महाधिवेशनको तयारी चलिरहेका बेला उनले पार्टीबाट अलग हुने घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्