संसद्मा हर्क साम्पाङले खोजे रक्षा मन्त्री, सुस्तामा भारतीय पक्षको गतिविधिबारे जवाफ माग

जेष्ठ, २९ काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रतिनिधिसभाको बैठकमा रक्षा मन्त्रीको खोजी गर्दै सुस्तामा भारतीय पक्षबाट भएको भनिएको गतिविधिबारे सरकारसँग जवाफ माग गरेका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै साम्पाङले सुस्तामा भारतीय पक्षका सुरक्षाकर्मीले नेपाली नागरिकलाई हप्कीदम्की गरेको भिडियो सार्वजनिक भएको उल्लेख गर्दै त्यसबारे सरकारको धारणा माग गरेका हुन्।

उनले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने मन्त्रीलाई संसद्मा उपस्थित गराउन सभामुखसँग आग्रह गर्दै सीमा सुरक्षासम्बन्धी विषयमा स्पष्ट जवाफ दिनुपर्ने बताए।

“नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ? रक्षा मन्त्रीलाई तपाईंले बोलाउनुपर्छ। उहाँलाई म प्रश्न सोध्न चाहन्छु,” साम्पाङले भने, “सुस्तामा भारतीय पक्षका सुरक्षाकर्मीले नेपालीलाई हप्कीदम्की गरिरहेको भिडियो सार्वजनिक भएको छ। त्यसतर्फ नेपाल सरकारले के गरिरहेको छ?”

उनले नेपाली सेनाको सीमा क्षेत्रमा भूमिकाबारे पनि प्रश्न उठाउँदै सेना सीमामा परिचालन हुन नसक्ने कुनै सम्झौता वा व्यवस्था भए त्यसबारे संसद्लाई जानकारी गराउन माग गरे।

“हाम्रो नेपाली सेना सीमामा जानै नहुने त्यस्तो के कसम खाएर बसेको रहेछ? नेपाल सरकारले सीमामा पठाउन नमिल्ने खालको कुनै करार गरेको छ भने त्यो संसद्मा देखाउनुपर्‍यो,” उनले भने।

साम्पाङको अभिव्यक्तिपछि संसद्मा सीमा सुरक्षा, राष्ट्रिय सार्वभौमिकता तथा सरकारको भूमिकाबारे थप बहसको विषय बनेको छ।

प्रतिक्रिया दिनुहोस्