नेपालसँगको दीर्घकालीन साझेदारीप्रति अमेरिका प्रतिबद्ध : कार्यवाहक राजदूत स्कट
जेष्ठ, २९ काठमाडौं । नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कटले नेपालसँगको दीर्घकालीन मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धप्रति अमेरिका प्रतिबद्ध रहेको बताएका छन्।
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भएको शिष्टाचार भेटका क्रममा उनले नेपाल र अमेरिकाबीच दशकौँदेखि कायम रहेको मित्रता, सहकार्य र साझेदारीलाई थप सुदृढ बनाउन अमेरिका इच्छुक रहेको बताएका हुन्।
सभामुखको सचिवालयका अनुसार कार्यवाहक राजदूत स्कटले लोकतान्त्रिक मूल्य, सुशासन, आर्थिक विकास तथा जनस्तरीय सम्बन्धलाई अझ मजबुत बनाउन अमेरिका निरन्तर सहकार्य गर्न तयार रहेको धारणा राखेका थिए।
भेटका क्रममा सभामुख अर्यालले नेपाल र अमेरिकाबीच सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता पारस्परिक सम्मान, विकास सहयोग र जनस्तरीय सम्बन्धमा आधारित घनिष्ठ तथा सौहार्दपूर्ण सम्बन्ध कायम रहँदै आएको उल्लेख गरे। उनले लोकतन्त्र, मानव अधिकार र स्वतन्त्रताजस्ता साझा मूल्यप्रति दुवै देश प्रतिबद्ध रहेको बताए।
आगामी वर्ष नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ८०औँ वर्षगाँठ मनाइने सन्दर्भ उल्लेख गर्दै सभामुख अर्यालले उक्त अवसरले दुई देशबीचको आठ दशक लामो सम्बन्धको समीक्षा तथा भावी सहकार्यलाई थप सुदृढ बनाउने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे।
उनले संसदीय भ्रमण आदानप्रदान कार्यक्रममार्फत दुवै देशका सांसद तथा जनप्रतिनिधिबीचको सम्बन्ध विस्तार गर्न सकिने धारणा पनि राखे।
सभामुख अर्यालले नेपाल–अमेरिका संसदीय मैत्री समूहको पुनर्गठन प्रक्रिया अगाडि बढिरहेको जानकारी दिँदै अमेरिकी विधायिकामा पनि यस्तै मैत्री समूहको पुनर्सक्रियता आवश्यक रहेको बताए। यस्ता संयन्त्रहरूले संसदीय सम्बन्ध, व्यापार, लगानी, पर्यटन तथा सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
उनले अमेरिका नेपालको महत्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै सन् १९५० को दशकदेखि सामाजिक तथा आर्थिक विकास, संस्थागत सुदृढीकरण र मानव पूँजी विकासमा पुर्याएको योगदानप्रति आभार व्यक्त गरे।
सभामुख अर्यालले नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाल प्रतिबद्ध रहेको र आगामी दिनमा पनि अमेरिकाको सहयोग तथा समर्थन निरन्तर रहने अपेक्षा व्यक्त गरे।
भेटका क्रममा उनले सफलतापूर्वक सम्पन्न संसदीय निर्वाचनपछि नेपाल राजनीतिक यात्राको नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै वर्तमान सरकार स्थिरता, सुशासन, पारदर्शिता, संस्थागत सुधार र आर्थिक रूपान्तरणप्रति प्रतिबद्ध रहेको बताए।
नेपाल र संयुक्त राज्य अमेरिकाबीच २५ अप्रिल १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। संयुक्त अधिराज्य बेलायतपछि नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको दोस्रो देश अमेरिका हो।





प्रतिक्रिया दिनुहोस्