अर्थमन्त्रीले सांसदलाई हेप्ने र धम्कीपूर्ण भाषा प्रयोग गरेको वर्षमान पुनको आरोप

जेष्ठ, २९ काठमाडौं । वर्षमान पुनले अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदहरूप्रति हेपाहा र धम्कीपूर्ण शैलीमा अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको शुक्रबार बसेको बैठकमा बोल्दै पुनले आर्थिक विधेयकमा गरिएको करका दर हेरफेर तथा त्यससम्बन्धी सूचना चुहावटबारे छलफलका क्रममा अर्थमन्त्रीको अभिव्यक्तिप्रति ध्यानाकर्षण गराएका हुन्।

उनले अर्थमन्त्रीले जवाफ दिने क्रममा सांसदहरूलाई लक्षित गर्दै विगतका कर हेरफेरका विषय उठाएर धम्की दिने र हेप्ने शैलीमा प्रस्तुत भएको आरोप लगाए।

“अर्थमन्त्रीज्यूले माननीयज्यूहरूलाई अलि हेप्ने गरी, धम्की दिने जस्तो ढंगले बोल्नुभयो। हिजोकाहरूको फाइल खोज्दैछौं, उनीहरूले ७० प्रकारका हेरफेर गरे, मैले ६–७ प्रकारको मात्रै गरेँ भन्ने आशय व्यक्त गर्नुभयो,” पुनले बैठकमा भने, “यो दुःखद कुरा हो, धेरै नै दुःखद कुरा हो।”

पुनले संसदीय समितिको गरिमा र सांसदहरूको सम्मानमा आँच पुग्ने गरी मन्त्री प्रस्तुत भएको दाबी गर्दै समितिका सभापतिबाट आवश्यक निर्देशन जारी हुनुपर्ने मागसमेत गरेका थिए।

जवाफमा समितिका सभापति भरत बहादुर खड्काले उक्त विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएका थिए।

हाल करका दर हेरफेर र सूचना चुहावटसम्बन्धी विषय संसद् र संसदीय समितिमा चर्को बहसको विषय बनेको छ।

प्रतिक्रिया दिनुहोस्