गोमा तामाङको आरोप— ‘माथिको ह्विप’ र गुटबन्दीले सभापति चुनाव हारें

जेष्ठ, २८, काठमाडौं । काराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी गोमा तामाङले कोशी प्रदेश सभापति निर्वाचनमा आफूलाई ‘माथिको ह्विप’ र गुटबन्दीका कारण पराजित गरिएको आरोप लगाएकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै तामाङले केही सांसद र केन्द्रीय नेतृत्वको हस्तक्षेपका कारण आफू पराजित भएको दाबी गरेकी हुन्। उनले सेटिङ र प्यानल राजनीति गर्न नजानेकै कारण हार बेहोर्नुपरेको उल्लेख गरेकी छन्।

“आखिर माथिको ह्विप भन्दै हराएरै छाड्यौ। सायद अनेक सेटिङ र प्यानल बनाउन जानिनँ मैले,” तामाङले सामाजिक सञ्जालमा लेखेकी छन्।

उनले कोशी प्रदेशमा गुटबन्दीको राजनीति मौलाउँदै गएको टिप्पणी गर्दै आफ्नो सोझोपन र स्पष्ट स्वभाव नै कमजोरी बनेको बताएकी छन्।

यसअघि बिहीबार नै तामाङले सक्रिय राजनीति छाड्ने घोषणा गरेकी थिइन्। “आजबाट राजनीति बिट मारेँ,” भन्दै उनले मतदाताप्रति आभार व्यक्त गरेकी थिइन्।

कोशी प्रदेश अधिवेशनअन्तर्गत सभापति पदको निर्वाचनमा तामाङ दोस्रो स्थानमा रहेकी थिइन्। कुल ४९० मतमध्ये चन्द्र राईले २८० मत प्राप्त गर्दै ५१ प्रतिशत मतसहित विजयी भएका छन्। निर्वाचन समितिले औपचारिक घोषणा गर्न बाँकी रहे पनि राईको जित सुनिश्चित भइसकेको छ।

तामाङले १४१ मत प्राप्त गरेकी थिइन् भने अन्य उम्मेदवार खगेन्द्र कटुवालले ४१ र चन्द्रकुमार गौलीले २७ मत पाएका थिए।

रास्वपाको कोशी प्रदेश संस्थापक नेतामध्ये एक रहेकी तामाङ पार्टीको कार्यवाहक प्रदेश सभापतिको जिम्मेवारीमा समेत रहेकी थिइन्। उनी यसअघि सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्