गोमा तामाङले रास्वपा छाडिन्, मतगणनामा पछि परेपछि राजनीति त्यागको घोषणा

जेष्ठ, २८, काठमाडौं । कोशी प्रदेश अधिवेशनमा मतगणनामा पछि परेकी गोमा तामाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टी परित्याग गरेको र सक्रिय राजनीतिबाट समेत अलग भएको घोषणा गरेकी हुन्। “आजदेखि राजनीतिबाट बिट मारेँ,” भन्दै उनले मतदाताप्रति धन्यवाद व्यक्त गरेकी छन्।

कोशी प्रदेश अधिवेशनमा भएको सभापति निर्वाचनमा उनी पनि प्रत्यासी थिइन्। पहिलो चरणको मतगणनामा उनी दोस्रो स्थानमा रहेकी थिइन्। कुल ४९० मतमध्ये चन्द्र राई २८० मतसहित ५१ प्रतिशत पार गर्दै विजयी भएका छन्।

तामाङले १४१ मत प्राप्त गरेकी थिइन् भने अन्य प्रत्यासी खगेन्द्र कटुवालले ४१ र चन्द्रकुमार गौलीले २७ मत पाएका थिए।

निर्वाचन समितिले औपचारिक घोषणा गर्न बाँकी भए पनि राई विजयी भइसकेका छन्।

तामाङ रास्वपाको कोशी प्रदेश संस्थापक नेतामध्ये एक हुन्। उनी यसअघि सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचनमा पनि पराजित भएकी थिइन्, जहाँ उनी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसँग पराजित भएकी थिइन्।

पार्टीभित्र कार्यवाहक सभापतिको भूमिकामा रहेकी तामाङले निर्वाचनमा पराजित भएसँगै सक्रिय राजनीतिबाट अलग हुने घोषणा गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस्