विद्युतमा कर लगाएर ग्यासलाई प्रोत्साहन गरिएको भन्दै सरकारको आलोचनाविद्युतमा कर लगाएर ग्यासलाई प्रोत्साहन गरिएको भन्दै सरकारको आलोचना
जेष्ठ, २८, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले घरायसी विद्युतमा कर लगाएर सरकारले उल्टै ग्यास प्रयोगलाई प्रोत्साहन गरेको आरोप लगाएका छन्।
बजेटमाथिको छलफलमा संसदमा बोल्दै दुलालले ५० युनिटभन्दा माथिको विद्युत प्रयोगमा ५ प्रतिशत भ्याट लगाइएकाले विद्युतभन्दा ग्यास सस्तो हुने अवस्था बनेको भन्दै सरकारलाई प्रश्न गरे। “अब भन्नुस्, विद्युत प्रयोग गरौं कि ग्यास?” उनले भने।
उनले नाकाबन्दीको समयमा विद्युतीय चुल्हो प्रयोग गर्ने बानी परेका नागरिकहरू बजेटका कारण निराश भएको टिप्पणी गरे। बजेटको कर प्रणालीलाई उनले “प्रगतिशील नभई प्रतिगामी” भएको आरोप लगाए।
दुलालले उपचार सेवामा समेत कर लगाइएको विषयलाई उठाउँदै त्यसलाई अघिल्ला भन्दा फरक र विवादास्पद व्यवस्था भएको बताए।
उनले बजेटले किसान र भुइँमान्छेका समस्या नबुझेको भन्दै लप्से गाउँकी एक वृद्धाको उदाहरण दिँदै बाँदर आतंक जस्ता समस्याप्रति ध्यान नदिइएको बताए।
साथै, २ करोडको कृषि परियोजनामा दिइने ४० लाख अनुदान वास्तविक किसानभन्दा व्यवसायीको पहुँचमा जाने जोखिम रहेको उनले दाबी गरे।
दुलालले दुर्गम बस्तीहरूको स्थानान्तरण र व्यवस्थित बसोबासको नीति नआएको भन्दै आफ्नै निर्वाचन क्षेत्रका पहाडी बस्तीहरूको उदाहरण दिँदै त्यस्ता क्षेत्रमा सडक र बिजुली पुर्याउनुको सट्टा बस्ती स्थानान्तरणलाई प्राथमिकता दिनुपर्ने सुझाव पनि दिएका छन्।





प्रतिक्रिया दिनुहोस्