रास्वपाले तय गर्‍यो ‘विचारका सात आधार’, चितवनमा महाधिवेशन हुँदै

जेष्ठ, २८, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो वैचारिक दृष्टिकोण र राजनीतिक दर्शनका सात आधार तय गरेको छ।

पहिलो महाधिवेशनका लागि तयार गरिएको विधान मस्यौदामा रास्वपाले लोकतान्त्रिक प्रणालीदेखि सुशासनसम्मका विषयलाई आधारभूत मार्गदर्शनका रूपमा समेटेको जनाएको छ।

पार्टीले पहिलो आधारका रूपमा पूर्ण लोकतान्त्रिक गणतन्त्र र विधिको शासनलाई अघि सारेको छ। यसअन्तर्गत बहुलवादमा आधारित शासन प्रणाली, वैयक्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूति तथा जवाफदेही शासन प्रणालीको अभ्यास गर्ने उल्लेख छ।

दोस्रो आधारमा सामाजिक न्याय र उदार अर्थतन्त्रलाई समेटिएको छ। समतामूलक विकास र प्रतिस्पर्धात्मक सामाजिक बजार व्यवस्था अपनाउने पार्टीको भनाइ छ।

तेस्रो आधार संवैधानिक समाजवाद रहेको छ, जसअन्तर्गत शान्तिपूर्ण माध्यमबाट समाजवादका लक्ष्य हासिल गर्दै राज्य सञ्चालन गर्ने उल्लेख गरिएको छ।

चौथो आधारमा समन्यायिक समावेशितालाई अघि सारिएको छ, जसमा लैङ्गिक, जातीय, वर्गीय तथा क्षेत्रीय विभेद अन्त्य गर्ने लक्ष्य राखिएको छ।

पाँचौँ आधारमा योग्यता, सुशासन र सदाचारलाई प्राथमिकता दिँदै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिने उल्लेख छ।

छैटौँ आधारमा सनातन सभ्यता र सांस्कृतिक सहअस्तित्वलाई जोड दिइएको छ भने सातौँ आधारमा उन्नत लोकतन्त्र, सुशासन र प्रभावकारी पार्टी सञ्चालनलाई पार्टीको प्रमुख मार्गदर्शक सिद्धान्तका रूपमा उल्लेख गरिएको छ।

रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्