बजेटलाई लिएर राप्रपा नेता ज्ञानेन्द्र शाहीको आलोचना, सरकारमाथि ‘व्यापारीमुखी’ नीतिको आरोप
जेष्ठ, २८, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले ल्याएको बजेट गरिब नागरिकभन्दा ठूला व्यापारीलाई लाभ पुग्ने गरी तयार गरिएको आरोप लगाएका छन्।
बिहीबार प्रतिनिधि सभामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटमाथिको छलफलमा बोल्दै शाहीले अर्थमन्त्रीलाई ‘विज्ञ’ भन्न नसकिने टिप्पणी गरे। उनले नागरिकको आवश्यकता बुझ्न नसकेको भन्दै सरकारको नीतिमाथि प्रश्न उठाए।
शाहीले स्वास्थ्य उपचारमा समेत कर लगाउने व्यवस्था “निर्दयी” भएको टिप्पणी गर्दै यसको प्रत्यक्ष भार बिरामी नागरिकले व्यहोर्नुपर्ने दाबी गरे।
उनका अनुसार उपचार खर्चमा कर लगाउनु निजी अस्पतालमाथि मात्र कर लगाउने कुरा नभई अन्ततः बिरामीमै थप आर्थिक बोझ पार्ने नीति हो।
त्यस्तै, उनले स्वदेशी औषधि उद्योगलाई प्रोत्साहन गर्नुको सट्टा आयातित औषधिलाई सहज बनाइएको भन्दै आपत्ति जनाए। यस्तो नीतिले घरेलु उद्योग संकटमा पर्ने र रोजगारीमा असर गर्ने उनले चेतावनी दिए।
शाहीले करिब २० देखि २५ हजारले रोजगारी पाएका औषधि उद्योग जोखिममा परेको र ५० भन्दा बढी ठूला उद्योग बन्द हुने खतरा रहेको दाबी गर्दै सरकारको नीति राष्ट्रहित विपरीत भएको टिप्पणी गरे।





प्रतिक्रिया दिनुहोस्