परराष्ट्रमन्त्री शिशिर खनालद्वारा भारत भ्रमणबारे राष्ट्रिय सभामा जानकारी
जेष्ठ, २८, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो दुई दिने भारत भ्रमणबारे राष्ट्रिय सभालाई जानकारी गराएका छन्।
बिहीबारको बैठकमा बोल्दै मन्त्री खनालले भ्रमणका क्रममा व्यापार, ऊर्जा, कनेक्टिभिटी, जलस्रोत, सीमा व्यवस्थापन, सुरक्षा तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा उच्चस्तरीय छलफल भएको बताए।
उनका अनुसार नेपाल र भारतबीच तीन वटा संयुक्त घोषणा गरिएको छ, जसमा अन्तरदेशीय व्यक्ति–व्यक्ति डिजिटल भुक्तानी सेवा सञ्चालन, भारतको सहयोगमा पुनर्निर्मित स्वास्थ्य तथा सांस्कृतिक संरचनाको हस्तान्तरण, र भाषा अनुवादसम्बन्धी डिजिटल पूर्वाधार विकासमा सहकार्य समावेश छन्।
मन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग समेत भेटवार्ता भएको जानकारी दिँदै सीमा व्यवस्थापन, साझा सुरक्षा चासो र रणनीतिक सहकार्यका विषयमा छलफल भएको उल्लेख गरे।
उनले द्विपक्षीय वार्तामा व्यापार, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन, कनेक्टिभिटी, खेलकुद र जनस्तरीय सम्बन्ध विस्तारलगायत विषयमा विस्तृत छलफल भएको बताए।
मन्त्री खनालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको संरक्षण सरकारको प्राथमिकता रहेको पनि संसदमा स्पष्ट पारे।





प्रतिक्रिया दिनुहोस्