अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि कर दर हेरफेरको आरोप, छानबिनको माग
जेष्ठ, २८, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सचेतक निश्कल राईले अर्थमन्त्री स्वर्णिम वाग्लेले बारम्बार करका दरमा हेरफेर गरेको आरोप लगाएका छन्।
बजेटमाथिको सामान्य छलफलमा आज भाग लिँदै राईले आर्थिक विधेयकमा कार्यकारिणी तहबाट पटक–पटक परिवर्तन गरिएको भन्दै आपत्ति जनाए। उनले संसदको अधिकारमाथि हस्तक्षेप भएको आरोप लगाउँदै अर्थमन्त्रीको कदमबारे प्रश्न उठाए।
“करका दरमा बारम्बार हेरफेर गर्नुभयो, संसदको अधिकारमा कैची चलाउनुभयो कि?” राईले प्रश्न गर्दै आर्थिक विधेयकलाई सरकार आफैंले सच्याउन नपाउने बताए।
उनले आर्थिक विधेयकमा गरिएको परिवर्तनलाई गम्भीर विषय भन्दै छानबिनको माग समेत गरे। “सदनमा पेस भएको विषय सदनबाटै सम्बोधन हुनुपर्छ, सरकारले आफूखुसी परिवर्तन गर्न पाउँदैन,” उनले भने।
राईले अर्थमन्त्रीको अघिल्ला अनुभव र योजनागत भूमिकाप्रति प्रशंसा गर्दै नेपाल एयरलाइन्सलाई कम्पनी मोडेलमा लैजाने निर्णय सकारात्मक रहेको पनि उल्लेख गरे।





प्रतिक्रिया दिनुहोस्