राखेप उपाध्यक्षमा पूर्व गोलकिपर विशाल श्रेष्ठ, चार खेलाडी बोर्ड सदस्यमा नियुक्त
जेष्ठ, २८, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा पूर्व राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई नियुक्त गरेको छ।
मन्त्रालयका अनुसार लामो समय राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका श्रेष्ठलाई खेलकुद प्रशासनमा अनुभव र नेतृत्व क्षमता प्रयोग गर्ने उद्देश्यसहित उपाध्यक्ष बनाइएको हो। उनले केही वर्षअघि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका थिए।
यसैगरी, मन्त्रालयले विभिन्न खेल विधाको प्रतिनिधित्व सुनिश्चित गर्ने लक्ष्यसहित चार जना नयाँ बोर्ड सदस्य पनि नियुक्त गरेको छ। नियुक्त हुनेमा टेबल टेनिस खेलाडी सिक्का सुवाल, पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी तथा प्रशिक्षक शक्ति गौचन, बुद्धिचाल खेलाडी मोनालिसा खुम्बु र फुटबल खेलाडी पवन शाही रहेका छन्।
मन्त्रालयले यी नियुक्तिहरूले नेपाली खेलकुदको विकास, व्यवस्थापन तथा नीतिगत सुधारमा योगदान पुग्ने अपेक्षा गरेको जनाएको छ।





प्रतिक्रिया दिनुहोस्