देउवा परिवार निकट सुदूरपश्चिम सांसद प्रकाशबहादुर देउवाले कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गरे
जेष्ठ, २८, काठमाडौं । नेपाली कांग्रेस का निवर्तमान सभापति शेरबहादुर देउवा का भतिजा तथा सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा ले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गरेका छन्।
उनले धनगढी–४ बाट क्रियाशील सदस्यता अद्यावधिक गरेका हुन्। केही समयदेखि अमेरिकामा रहेका सांसद देउवाले अनलाइनमार्फत सदस्यता अद्यावधिकका लागि आवेदन दिएका थिए, जसलाई क्रियाशील सदस्यता व्यवस्थापन समितिले स्वीकृत गरेको जनाएको छ।
कांग्रेसले गत पुससम्म नवीकरण र नयाँ सदस्यता लिएकाहरूको विवरण संकलन गर्दै क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया अघि बढाइरहेको छ। यसका लागि वैशाख १ देखि जेठ २८ गते मध्यरातसम्म समयसीमा तोकिएको थियो।
पार्टीभित्र भने क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियाबारे फरक–फरक धारणा देखिएको छ। निवर्तमान सभापति देउवा पक्ष, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला निकट केही नेताहरूले प्रक्रियामा सहभागी नहुन आग्रह गरे पनि उनीहरूकै समूहका कार्यकर्ताहरूले पनि अद्यावधिक गरिरहेका छन्।
कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक नगर्ने सदस्यहरू आगामी १५ औँ महाधिवेशनमा सहभागी हुन नपाउने स्पष्ट पारेको छ।





प्रतिक्रिया दिनुहोस्