नेकपा पूर्वसांसद छिरिङ ल्हामु लामाले पार्टी परित्याग गरेको घोषणा

जेष्ठ, २८, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी की पूर्वसांसद छिरिङ ल्हामु लामा ले पार्टी परित्याग गर्दै सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको स्ट्याटसमा उनले पार्टीभित्र काम गर्न नपाएको, निषेध र अपमानको वातावरण भोग्नुपरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन्।

लामाले पार्टीभित्र आफ्नो क्षमता र योगदानलाई स्वीकार नगर्ने मानसिकता रहेको आरोप लगाउँदै आफूले कार्यकालभरि पीडा, अपमान र अवरोध सहनुपरेको दाबी गरेकी छन्।

“आफू बाहेक अरू कसैको अस्तित्व स्वीकार गर्न नसक्ने मानसिकताका कारण मैले असंख्य पीडा र अपमान सहनुपर्‍यो,” उनले लेखेकी छन्।

उनले युवाको विचार र नयाँ पुस्ताको आवाजलाई दबाउने प्रवृत्ति रहेको भन्दै त्यस्तो वातावरणमा निरन्तर रहन नसक्ने निर्णयमा पुगेको बताएकी छन्।

लामाले आफूविरुद्ध षड्यन्त्र र राजनीतिक तथा व्यक्तिगत रूपमा कमजोर पार्ने प्रयासहरू भएको आरोप पनि लगाएकी छन्। तर ती चुनौतीहरूका बाबजुद आत्मबल र संघर्षले आफू टिकेको उनको भनाइ छ।

उनले आफ्नो राजनीतिक यात्रालाई लिएर हुने आलोचना वा अवसरवादी भन्ने टिप्पणीप्रति पनि प्रतिक्रिया दिँदै आफ्नो योगदानको मूल्यांकन समयले गर्ने विश्वास व्यक्त गरेकी छन्।

“मैले पाएको जिम्मेवारी दबाब वा मागबाट होइन, समयले दिएको हो,” उनले लेखेकी छन्।

लामाका अनुसार आफूले अब स्वतन्त्र रूपमा आत्मसम्मानका साथ राजनीतिक यात्रा अघि बढाउने निर्णय गरेकी छन्। उनले निषेध र असहिष्णुताको राजनीतिबाट अलग हुनुपरेको भन्दै त्यसै कारण पार्टी छोडेको उल्लेख गरेकी छन्।

२०७९ सालको निर्वाचनमा उनी समानुपातिक प्रणालीबाट सांसद निर्वाचित भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्