रास्वपा बागमती प्रदेश अधिवेशनको रोकिएको मतदान शनिबार गराउने तयारी

जेष्ठ, २८, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनअन्तर्गत स्थगित भएको मतदान प्रक्रिया शनिबार पुनः सञ्चालन गर्ने तयारी गरिएको छ।

पार्टीको निर्वाचन आयोगका उपप्रमुख राम गुरूङ का अनुसार रोकिएको मतदान पुनः सञ्चालन गर्नेबारे छलफल भइरहेको छ र सम्भवतः शनिबार नै मतदान गरिनेछ।

उनका अनुसार मतदानको स्थानबारे भने अझै टुंगो लागिसकेको छैन। हेटौंडामै अधिवेशन सम्पन्न गर्नुपर्ने वा काठमाडौंमा सार्ने भन्ने विषयमा समेत छलफल भइरहेको उनले जानकारी दिए।

“रोकिएको मतदान शनिबार गराउनेबारे छलफल भइरहेको छ, सम्भवतः त्यही दिन मतदान हुन्छ,” गुरूङले भने।

निर्वाचन आयोगका अनुसार मतदान प्रक्रियामा देखिएका केही प्राविधिक तथा व्यवस्थापकीय समस्या समाधान भइसकेको छ। आयोगले अब निर्वाचन प्रक्रिया अगाडि बढाइने जनाएको छ।

आयोगले यसअघि मतपत्रमा देखिएका त्रुटि सच्याउन, मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्न, करिब ४०० प्रतिनिधिसम्बन्धी समायोजन सूचीमा आएका उजुरी र विवाद सम्बोधन गर्न तथा निर्वाचन व्यवस्थापनमा जनशक्ति थप्नुपर्ने कारणले मतदान स्थगित गरिएको जनाएको थियो।

निर्वाचन प्रमुख भुवन केसी ले सबै प्राविधिक काम पूरा भएपछि स्थगित अधिवेशन पुनः सञ्चालन गरिने र नयाँ मिति तथा विस्तृत विवरण मतदान सुरु हुनुभन्दा कम्तीमा २४ घण्टा अगाडि सार्वजनिक गरिने बताएका थिए।

पार्टीले प्रतिनिधिहरूलाई आधिकारिक सूचनामात्र विश्वास गर्न र भ्रामक हल्लाबाट प्रभावित नहुन आग्रह गरेको छ।

बागमती प्रदेश नेतृत्वका लागि निवर्तमान सभापति अच्युतम लामिछाने, उत्सव अर्याल, हरि खत्री र कृष्णमान शाक्यबीच प्रतिस्पर्धा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्